साझाले काठमाडौंमा रात्रीबस संचालन ल्यायो, भाडा २५ रुपैयाँ




काठमाडौं । साझा यातायातले रात्रिकालीन बस सेवाको सुरुवात गरेको । साझा यातायातले मंगलबार रातिदेखि रात्रिकालीन सेवाको सुरुवात गरेको हो ।

साझाको रात्रि बस सेवा यात्रुहरुले २५ रुपैयाँमा प्रयोग गर्न सक्ने छन् । यात्रुहरुले रात्रिकालीन सेवा प्रयोगगर्दा जुनसुकै स्थानबाट चढेपनि २५ रुपैयाँ भाडा लाग्ने साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले क्लिकमाण्डूलाई जानकारी दिए ।

साझाले ५ वटा रुटमा राति साढे ८ देखि ११ बजेसम्म रात्रिकालीन सेवा दिन सुरु गरेको हो । ‘ साझाको दिवा सेवामा रुट नभएको स्थान जोरपाटी र गंगालाल हृदयकेन्द्र क्षेत्रमा समेत रात्रि बस सेवा संचालन गरिएको छ, रातिको समयमा सार्वजनिक यातायात नचल्ने भएकाले यात्रुहरुलाई पर्ने गरेको समस्यालाई ध्यानमा राखेर रात्री बस सेवा सुरु गरिएको हो,’ पाण्डेले भने ।
साझाले संचालन गर्ने रात्रिसेवाका बसहरु पाटन अस्पताल, त्रिपुरेश्वर आँखा अस्पताल बीर अस्पताल, त्रिबि टिचिङ अस्पताल, गंगालाल हृदयरोग केन्द्र हुँदै न्युरो अस्पतालसम्म पुग्नेछ र सोही रुट भएर फर्किनेछ ।

यसैगरी साझाले देशको प्रमुख व्यापारीक केन्द्र न्युरोडगेटबाट नयाँ बनेश्वर कोटेश्वर रुपटमा पनि अर्को बस चलाउनेछ । सो स्थानमा पनि राति ११ बजेसम्म बस चल्ने छ ।
साझाले जोरपाटी क्षेत्रमा दिवा सेवा संचालन गरेको छैन । तर, रातिको समयमा ती स्थानका यात्रुहरुलाई पनि सेवा प्रधान गर्ने उद्देश्यले न्युरोडगेटबाट सिंहदरबार–बानेश्वर तीनकुनेहुँदै एयरपोर्ट, गौशाला चाबहिल हुँदै जोरपाटीसम्मका यात्रुका लागि सेवा दिन लागेको पाण्डेले बताए ।

यसैगरी न्यरोडगेटबाटै त्रिपुरेश्वर–कालीमाटी–कलंकी रुटमा पनि साझाले सेवा दिनेछ । न्युरोड गेट अगाडिबाटै ठमेल, सोह्रखुटे, नयाँ बसपार्कसम्म अर्को बस चल्नेछ ।
यी सबै रुटबाट गएका बस सोही बाटो भएर फर्किने पाण्डेले बताए ।


क्लिकमान्डु