फोहोर उठाउँन चीनले अनुदान दिएका गाडी फोहोर नबोक्दै आफैं फोहोर




काठमाडौं । चीन सरकारले अनुदानमा दिएका गाडी काठमाडौं महानगरपालिकाले प्रयोग गर्न नसक्दा त्यसै पुराना भएका छन् । महानगरले आफूले पनि प्रयोग नगरेको र अन्य उपमहानगर वा नगरपालिकालाई पनि नदिएका कारण प्रयोगमा ल्याउन नपाउदै काम नलाग्ने गरी बिग्रिएका छन् ।

महानगरले आवश्यक भन्दा धेरै गाडीहरु भएकाले सबै गाडी प्रयोग गर्न नसकिएको बताएको छ । महानगरलाई चीन सरकारले २०६६ सालमा अनुदान स्वरुप १०८ वटा गाडी दिएको थियो ।

चीनले दिएको गाडी महानगरलाई चाहिनेभन्दा धेरै भएकाले हालका लागि आवश्यक गाडीहरु मात्रै प्रयोग गरिएको र बाँकी गाडी त्यसै बसेको महानगरको वातावरण व्यवस्थापन विभागका मेकानिकल ईन्जिनियर विजय श्रेष्ठले जानकारी दिए ।

‘चीन सरकारबाट अनुदान पाएको गाडीमध्ये ६० वटा प्रयोगमा छन्, बाँकी आवश्यकता अनुरुप विस्तारै संचालनमा ल्याउछौं,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

चीनले महानगरलाई ४० वटा फोहर बोक्ने मिनी गाडी, ३० वटा डम्पर प्लेसर ( १० चक्के), ५ वटा एम्बुलेन्स, ४ वटा रोड स्प्रिकल (सडक किनाराका बोट विरुवामा पानी हाल्ने गाडी), ४ वटा सक्सन (ढल खोल्ने) एक ब्रुमर लगायतका १०८ वटा गाडीहरु दिएको थियो ।

यी गाडीमध्ये डम्पर प्लेसरका पूर्जा खराब भएर प्रयोग नकिएको श्रेष्ठले जानकारी दिए । बिग्रिएका गाडीको पार्टस् नेपालमा पाउन नसक्ने भएकोले मर्मत सम्भार हुन नसकेको उनको भनाइ छ ।

‘गाडीहरु चाइनिज हुन् र तिनका पाटपुर्जा नेपालमा उपलब्ध छैनन्, सो कारणले ती गाडीको मर्मत सम्भार गरेर प्रयोग गर्न सकिएको छैन,’ श्रेष्ठले भने ।

महानगर वातावरण व्यवस्थापन विभागमा राखिएका गाडीहरु संचालनमा नआएकाले गाडीहरुको अवस्था एकदमै नाजुक छ । ती गाडीहरु पुर्नप्रयोग गर्ने अवस्थामा छैनन् । तर महानगर भने आवश्यक परेको अवस्थामा ती गाडीहरु प्रयोग गर्ने बताउदै आएको छ ।

महानगरले चाइनाबाट पाएको ५ वटा एम्बुलेन्समा ३ वटा एम्बुलेन्स नेपाल प्रहरी, नेपाली सेना र सशत्र प्रहरीलाई दिएको बताएको छ । बाँकी दुईटा प्रयोग नभई काम नलाग्ने अवस्थामा परिसर भित्र त्यत्तिकै थन्केर बसेको छ । देशका धेरै स्थानका एम्बुलेन्सको सेवा प्राप्त नभएको अवस्थामा एम्बुलेन्स जस्तो सम्बेदनशील साधन महानगरले प्रयोगहिन अवस्था त्यसै छोडेको छ ।

महानगरसँग चीनले दिएको ४ वटा ढल खोल्ने (सक्सन) गाडी पनि छन् । तर ती गाडीको प्रयोग गर्न नसक्दा (मेलम्ची खानेपानी आयोजनाको पाइप विस्ताको क्रम) ढल जाम भएका स्थानमा सो गाडीको प्रयोग गर्न सकेको छैन । अहिले महानगका विभिन्न स्थानमा ढल फुटेर बाटो दुगन्धित भइरहेको छ ।

काठमाडौं महानगरपालिका हरियाली होस् भनेर चीनले सडक किनारामा रहेका बोट विरुवा र सडकमा पानी हाल्नका लागि रोड स्प्रिकल पनि उपलब्ध गराएको थियो । ती गाडीहरु पनि प्रयोगहिन अवस्थामा छन् ।

अहिले काठमाडौं धुलोमय भएको छ । महानगरले ब्रुमरको प्रयोगबाट काठमाडौंको धुलो उठाउने कुरा निकै चर्चामा छ । महानगरले आफूसँग गाडी धेरै भएकोले केही गाडी प्रयोग नगरी राखिएको दाबी गरेको छ ।

यता ब्यवस्थापिका संसदको विकास समितिको माघ २१ गतेको बैठकले महानगरलाई काठमाडौंको सरसफाईका लागि आवश्यक पर्ने ब्रुमर मेसिन खरिद गर्न निर्देशन दिइसकेको छ । तर महानगरले आफूसँग उपलब्ध ब्रुमरको प्रयोग गर्न नसकेर त्यसै थन्केको छ ।


क्लिकमान्डु