बिजय केडियाले ३५ हजारलाई कसरी बनाए ५०० करोड ?




काठमाडौं । बिजय केडिया भारतको सेयर लगानी दुनियाँमा निकै परिचित नाम हो । ३५ हजार भारुलाई ५०० करोड बनाउने लगानीकर्ताको रुपमा उनको चर्चा हुने गर्छ । उनको सेयर लगानीमा पाएको सफलता नेपालमा पनि कैयौं साना र नयाँ लगानीकर्ताका लागि प्रेरणा हुन सक्छ ।

कसरी शुरु गरे उनले ?
बिजय सेयर दलालको घरमा जन्मिएका हुन् । उनका बुवा र हजुरबुवा सेयर दलाल थिए । बिजय आफुले पनि सेयर मै करिअर बनाउने उद्येश्यले सन् १९७८ मा सेयर बजार प्रवेश गरे । तर, सेयर बजारमा प्रवेश गर्नु उनको आफ्नै इच्छा नभएर बाध्यता थियो । बावु बितेपछि परिवार चलाउनका निम्ति उनले आफ्नो परिवारले चलाउँदै आएको सानो पारिवारिक ब्यवसाय र सेयर दलालको काम शुरु गरे ।

त्यसपछिका १० बर्ष बिजयले सेयर बजारमा सानो कारोबारीको (सेयर छोटो समयका लागि किनबेच गरेर) रुपमा बिताए । उनी कहिले अलिअलि पैसा कमाउँथे त कहिले गुमाउँथे । कारोबारबाट आफ्नो परिवार पाल्न पुग्ने पैसा नकमाएकोले उनी चिया बेच्ने आफ्नो सानो पारिवारिक ब्यवसाय पनि सँगसँगै गर्थे ।

तर, ती दिनहरुमा उनले सिकेको सबैभन्दा ठूलो पाठ थियो ‘स्टप लस’ को प्रयोग । अर्थात, सेयर कारोबारमा प्रवेश गर्नुअघि नै आफू बजारमा छिर्ने र निस्कने समयको यकीन । यी कुराहरुको ख्याल नगर्दा साना लगानीकर्ता समान्यतः नाफा बुक चाँडै गर्ने, अनि नोक्सान भने पछिसम्म ब्यहोर्ने गर्छन् । यस्तो गर्दा नाफा घट्ने अनि नोक्सान बढ्ने हुन्छ । ‘स्टप लस’ को प्रयोग बिना सेयर कारोबारी बजारमा टिक्नै सक्दैन । उसले धरै कारोबारबाट थोरै थोरै पैसा कमाए पनि एउटैबाट सबै पैसा गुमाउने जोखिम रहन्छ ।

त्यसपछि, बिजय सेयर कारोबार मात्र गरेर आफूले चाहे जस्तो जीवनयापन गर्न सम्भव नहुने निस्कर्षमा पुगे । उनी सफल लगानीकर्ताका बारेमा पढ्न थाले । अनि सेयर कारोबारीबाट सेयर लगानीकर्ता बन्ने निर्णय गरे ।

त्यसको शरुवात उनले कम्पनीका बारे आधारभुत बिश्लेषण गरेर गरे । कम्पनीका बित्तीय बिवरणहरु पढ्ने, अवसर र जोखिमहरु मुल्याङ्कन गर्ने, कम्पनीका बारे सकेसम्म बढि सुचना संकलन गर्ने, बृहतत्तर आर्थिक–राजनीतिक परिस्थितिको मुल्याङ्कन गर्ने, सकेसम्म कम्पनीको ब्यवस्थापनका मान्छे भेट्ने लगायत काम नै उनको दैनिकी बन्न थाल्यो ।

यी तमाम जानकारी पछि उनले त्यतिबेला आफूसँग भएको ३५ हजार रुपैंयाँ लगानी गर्ने निधो गरे । त्यतिबेला उनीसँग ३५ हजार भारु मात्रै थियो । उनी भाडाको घरमा बस्थे ।

उनले त्यो पैसाले ‘पन्जाब ट्रयाक्टर’ भन्ने कम्पनीको सेयर किने । तीन बर्ष पछि उनको सो कम्पनीको भाउ ६ गुणा बढ्यो । र, उनको ३५ हजार भारु २ लाख १० हजार भयो । पन्जाब ट्रयाक्टरबाट कमाएको पैसा उनले ‘एसिसी’ भन्ने कम्पनीमा लगानी गरे । बिजयले सो कम्पनीको सेयर प्रतिकित्ता ३०० भारुमा किनेका थिए । पहिलो बर्ष त्यो कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन । तर, दास्रो बर्ष १० गुणा बढेर ३००० भारु प्रतिकित्तासम्म पुग्यो । एसिसीबाट कमाएको पैसाले उनले आफ्ना लागि अपार्टमेन्ट समेत किने ।

त्यसपछि उनले आजसम्म फर्केर हेरेका छैनन् । र, बिभिन्न कम्पनीहरुमा सफल लगानी गरिरहेका छन् । बिजय सेयर लगानीकर्तामा यी तीन गुण हुनै पर्ने बिश्वास गर्छन् ।

१. ज्ञान–लगानीकर्तामा उत्कृष्ट कम्पनीहरु छान्ने ज्ञान हुनैपर्छ । यस्तो ज्ञान बटुल्न लगानीकर्ताले एकदमै धेरै पढ्नुपर्छ । यसका लागि छोटो बाटो छैन । पढ्ने बानी नभएको मानिस सफल लगानीकर्ता हुनै नसक्ने उनी दाबी गर्छन् ।

२. साहस–सेयर भनेको निकै जोखिमपूर्ण र सबै पूँजी डुबाइदिन सक्ने लगानी हो । यो डरले मान्छेहरुलाई सेयर बजार प्रवेश गर्न रोक लगाउँछ । र, लगानी गरिहाले पनि सानो पूँजी लगानी गर्ने बनाउँछ । तर, बिजयको बिश्वास के छ भने जब राम्रो लगानी गर्न मिल्ने केही छ भने ठूलो अर्थ राख्ने लगानी गर्नुपर्छ ।

३. धैर्यता–धैर्यता लगानीकर्तामा हुनुपर्ने एकदमै महत्वपूर्ण गुण हो । सेयरले आफ्नो ‘जादु’ देखाउन लामो समय लगाउन सक्छ । आफ््नो कम्पनीको मूल्य बर्षौंसम्म स्थीर रहे पनि लगानीकर्ताले आफ्नो धैर्यको बाँध टुट्न दिनुहुँदैन । बिजयका अनुसार लगानीकर्तामा घटिमा पनि ५ बर्ष सेयर पाल्न सक्ने धैर्यता हुनैपर्छ ।

बिजय केडियाको सेयर बजारमा सफलता प्राप्त गर्ने १० सुत्र
– आफ्नो दैनिक गुजाराको लागि कहिल्यै पनि सेयर बजारमा भर नपर्नुस् । आम्दानीको बैकल्पिक स्रोत खोज्नुस् । यसले तपाइलाइ बजारको उतारचढाव सामना गर्न सक्ने र आफ्नो सेयर होल्ड गर्न सक्ने शक्ति दिन्छ ।

– कम्पनीको आधारभुत बिश्लेषण नगरी कहिल्यै सेयर नकिन्नुहोस् । सेयर बजार जुवा घर होइन । तपाइ आफ्नो कम्पनीको समाचार र बिकासबारे सुचित हुनैपर्छ ।

– आफ्नो जोखिम बहन गर्नसक्ने क्षमता हेरेर लगानी गर्नुस् । जोखिम न्यूनिकरण गर्न अरु ‘एसेट क्लास’ हरुमा पनि लगानी गर्नुस् ।

– सेयर कारोबार (छोटो समयको लागि खरिद बिक्री) कहिल्यै नगर्नुस् । र, ऋण लिएको पैसाले सेयर नकिन्नुस् । सेयर कारोबार गर्ने मध्ये १ प्रतिशत भन्दा कमले मात्र हो पैसा कमाउने ।

– कम्तीमा ५ बर्षको लागि लगानी गर्नुस् । रोम शहर एकै दिनमा बनेको होइन । कम्पनी परिपक्व हुन र हुर्कन समय लाग्छ ।

– राम्रो ब्यवस्थापन भएको कम्पनीको मात्र सेयर किन्नुस् । र, बजारको दैनिक उतारचढावबाट हतास नहुनुस् ।

– कागजमा हुने नाफा र नोक्सानको वास्ता नगर्नुस् ।

– समय समयमा नाफा बुक गर्नुस् । कम्पनीको मूल्य ‘ओभरभ्याल्युड’ भएमा बेच्न धक नमान्नुस् ।

– मानसिक रुपमा सन्तुलित हुनुस् । धेरै आशावादी र धेरै निराशावादी हुनु हुँदैन । पश्चाताप त गर्नै हुँदैन ।

– राम्रो कर्म गर्नुस, र राम्रो मान्छे बन्नुस् । सेयर भनेको दिमागको खेल हो । राम्रो काम गर्नुभएको छ भने तपाइको दिमाग स्थीर हुन्छ, र तर्कपूर्ण ढंगले सोच्न मद्दत पुग्छ । एजेन्सीको सहयोग


क्लिकमान्डु