३ दिनमै ९५ अंकले बढ्यो नेप्से, अब के होला ?



काठमाडौं । पछिल्ला ३ दिनमा नेपाल स्टक एक्सचेञ्ज सूचक (नेप्से इन्डेक्स) ९५ अंकले बढेको छ । विगत केही महिनायता लगातार जस्तो घटेको नेप्से यो हप्तादेखि बढेको हो ।

निर्वाचन गर्ने सवालमा प्रतिपक्षमा रहेको पार्टी एमाले पनि सहमतिमा आएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको नविल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले जानकारी दिए ।

‘निर्वाचन भएपछि विकास खर्च हुन्छ र अर्थतन्त्र पनि चलायमान हुन्छ भन्ने अपेक्षामा नेप्से बढेको हो, त्यसबाहेक अहिले नेप्से बढ्नुको कुनै कारण देखिँदैन,’ पराजुलीले क्लिकमाण्डूसँग भने ।

०५४ सालपछि नेपालमा स्थानीय निकायको निर्वाचन भएको छ । सरकारले जसरी भएपनि चाँडोभन्दा स्थानीय निकायको निर्वाचन गर्ने तयारीका साथ राजनीतिक सहमति जुटाइरहेको छ ।

बिहीबार मात्रै नेप्से सूचक २७ अंकले बढेको छ । बुधबार ४२ अंकले बढेको थियो भने मंगलबार २६ अंकले बढेको थियो । साताको पहिलो दिन आइतबार नेप्से ४४ अंकले बढेको थियो ।

राजनीतिक वातावरण सकरात्मक बन्दै गएको र बैंकमा लगानी योग्य रकम (तरलता) सहज हुँदै गएकाले अब नेप्से बढ्न सक्ने विश्लेषकहरुको अनुमान छ ।

बिहीबारको कारोबारमा उत्पादनमूलक र अन्य समूहबाहेक सबै उपसूचकहरु बढेका छन् । दुबै उपसमूहको सूचक ६ अंकले घटेको नपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो दिन बीमा समूहको सूचक सबैभन्दा बढी अर्थात् २९० अंकले बढेको छ । त्यसैगरी, २६ अंक, होटल र विकास बैंक समूहको २४ अंकले, जलविद्युतको १४ र फाइनान्स कम्पनीको सूचक ११ अंकले बढेको छ ।

बिहीबार १ सय ४५ कम्पनीका २६ लाख ६५ हजार कित्ता सेयर ६५ करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।


पुष्प दुलाल