किसानलाई ५० प्रतिशत अनुदान दिने कृषि मन्त्रीको घोषणा



काठमाडौं । सरकारले कृषि यान्त्रिकरण मार्फत व्यवसायिक कृषिमा लाग्ने किसानलाई ५० प्रतिशतसम्म अनुदान दिने भएको छ ।

कृषि विकासमन्त्री गौरीशंकर चौधरीले कृषिलाई आधुनिकीकरण गर्न नसक्दासम्म खाद्यान्नमा पेशामा आत्मनिर्भर बन्न नसक्ने भन्दै यान्त्रिकरणमा जोड दिएका छन् ।
उनले युवालाइ कृषिमा लाग्न आग्रह गरेका छन् । नेपाल कृषि मेसिनरी व्यवसायी संघ फयुचर एक्स प्रालि र मिडिया स्पेस सोलुसन प्रालिको संयुक्त आयोजनामा शुक्रबार राजधानीमा सुरु भएको कृषि  प्रदर्शनी अर्थात नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पोको उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो आग्रह गरेका हुन् ।

कृषि विकास मन्त्रालयका निमित्त सचिव ईश्वरी रिजालले उद्यमशील व्यक्ति सक्रिय भई स्वदेशमा नै यस्ता यन्त्र उत्पादनतर्फ लाग्नुपर्नेमा जोड दिए । नेपाल कृषि मेसिनरी व्यावसायिक संघका अध्यक्ष स्वयम्भुकृष्ण श्रेष्ठले उत्पादन र उत्पादकत्व बढाउन यान्त्रीकरणको विकल्प नभएको बताए ।

सो अवसरमा कृषि इन्जिनियरिङ निर्देशनालयका कार्यक्रम प्रमुख मधुसूदन बस्नेत, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट र मिडिया एक्स सोलुसन प्रालिका प्रबन्ध निर्देशक सृजल भट्टराईले आगामी दिनमा साना र सीमान्तकृत किसानको उत्थानमा सरकारले जोड दिनुपर्ने बताए ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित तीनदिने मेलामा नेपालका साथै भारत, मलेसिया, चीनलगायत १६ वटा देशका विभिन्न किसिमका कृषि यन्त्र, पोल्ट्रीका सामग्री र थोपा सिँचाइबारे जानकारी गराउने २ सयभन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ ।

कृषि सम्बन्धी चाप कटर, ठूलो चाप कटर, ब्रस कटर, थोपा सिंचाई, कम्वाइन मिल, डिस्क मिल, हार्भेस्टर रिपर, दिब्लर, कुटानी, पिसानी, डेरी, कुखुरा पालन, मत्स्य, खेती प्रणाली, पशु पालनसम्बन्धी उच्च गुणस्तरको आधुनिक प्रविधिसहितको सानादेखि ठूलो आकारको उपकरण र यन्त्रलाई सहभागी गराइएको छ । यसैगरी धान, मकै, गहुँ, कोदोको लागि खेत खन्ने, बीउ छर्ने, उत्पादन भएका बाली काट्ने र प्रशोधन गर्नेसम्मको उपकरण पनि राखिएको छ ।


क्लिकमान्डु