मैले लेखेको ‘लभ लेटर’ अझै उनले दराजमा चावी लगाएर राखेकी छन्,…



 

कति वर्ष पुग्नुभयो ?

उमेरले त म ५० वर्ष पुगिसकेँ । तर, मलाई अझैपनि म टिनएजर नै छु जस्तो लाग्छ ।

उमेरले त डाँडा काटिसकेछ । तर अझै टिनएजर नै छु भन्नुहुन्छ नि ?

परिवारको कान्छो छोरो भएर पनि होला, मलाई अझै सानै छु जस्तो लाग्छ । परिवारका अग्रजहरुले अझै पनि मलाई सानै छ भन्ने व्यवहार गर्ने भएकाले पनि मलाई आफु युवा भएको फिल हुन्छ ।

तपाईँलाई आफू कति वर्षे युवा छु जस्तो लाग्छ ?

दिलबाट हेर्दाखेरी म टिनएजर नै छु जस्तो लाग्छ ।

व्यवहारबाट हेर्दा चैं ?

व्यवहारबाट पनि टिनेजरै छु । जवजस्र्ती त्यस्तो रिफ्लेक्सन भएको होइन । अटोमेटिक टिनेजरजस्तो व्यवहार भएको पाउँछु ।

बुढेसकालमा टिनेजरमा हुने के कस्ता गुण छन् त तपाईँसँग ?

राजादेखि रंकसम्म्को टिनएज उस्तै स्वभाव र प्रकृतिको हुन्छ । केही खासखास गुणहरु अहिले पनि मसँग छन् । मलाई चिन्नेले त्यसको महसुस गर्न पाएकै छन्, त्यसैले मिडियामार्फत नै सार्वजानि गरिरहनु नपर्ला ।

कति पढ्नु भएको छ ?

भारतको पुनामा इन्जिनियरिङ पढ्दा पढ्दै मेरो आमाको देहवसान भयो । त्यसपछि म पढाई छाडेर फर्किएँ । नेपाल आएपछि व्यवसाय गर्न थालेकाले पढाईलाई निरन्तरता दिन सकिँन । यो ९० को दशकको घटना हो ।

एक्लो छोरो हुँ, तिम्रो लायक छु । हाम्रो जात पनि मिल्छ । भेट्दा भन्ने आँट नआएको हो वास्तवमै म तिमीसँग विवाह गर्न चाहन्छु, यस्तै यस्तै लेखेको थिएँ ।

पढाई छाडेर व्यवसाय गर्न थाल्नुभयो । आज सम्झिँदा गल्ती गरे भन्ने लाग्छ कि सही गरेँ जस्तो लाग्छ ?

व्यवसायमा लागेर सही गरेछु जस्तो लाग्छ । पढेको थिएँ भने आज सरकारी इञ्जिनियर भएको हुन्थेँ होला । आफुसँगै पढेर सरकारी जागिर खाएका साथीहरु असन्तु्ष्ट भएको देख्दा म आफूले सही गरेछु भन्ने लाग्छ । जागिरले दिने सामाजिक सुरक्षाभन्दा व्यापार व्यवसायले दिने सामाजिक सुरक्षा भरपर्दो छ ।

कति पुँजीमा व्यवसाय सुरु गर्नुभयो ?

७ लाख रुपैयाँबाट व्यवसाय सुरु गरेको हुँ । २६ वर्षअघि ७ लाख रुपैयाँ भनेको निकै ठूलो पैसा थियो ।

अहिले तपाईको व्यवसायको पोर्टफोलियो कत्रो छ ?

आफ्नै जमिनमा फ्याक्ट्री छ । त्यसको त के हिसाबकिताब गर्नु । कुनै समेय मैले १० करोडसम्मको गलैंचा निर्यात गर्थे । अहिले अलि घटेको छ । सबै हिसाबकिताब गर्दा १५/२० करोडको पोर्टफोलियो छ ।

तपाईँको तलब कति हो ?

म मेरो कम्पनीबाट मासिक १ लाख रुपैयाँ तलब लिन्छु । पुगेकै छ । बाँकी वार्षिकरुपमा बोनस पनि आइहाल्छ । त्यसबाहेक घरभाडा पनि आउँछ ।

काठमाडौंमा जग्गा कति छ त ?

धेरै त बेचिसकियो । अब ८ रोपनी छ ।

###

तपाई कतिको रमाइलो मान्छे हो ?

तपाईहरुलाई कस्तो लाग्छ ? मलाई त आफु रमाइलै छु जस्तो लाग्छ । नजिकबाट चिन्नेहरुले झट्ट हेर्दा रिसाहा जस्तो तर बुझ्दै गएपछि रमाइलो छस् भन्छन् ।

गीत पनि गाउनुहुन्छ है ?

गीत गाउन पनि गाउँछु र सुन्न पनि सुन्छु । वास्तवमै भन्ने हो भने म संगीतको पारखी हुँ । त्यसैले सबै प्रकारका गीत सुन्छु । म शब्दमा भन्दा संगीतमा इन्जोई गर्छु ।

तपाईलाई सबैभन्दा बढी मन परेको गीत ?

मलाई बच्चु कैलास र भक्तराज आचार्यका गीतहरु सबैभन्दा बढी मन पर्छन् । ‘त्यो आँखाले लौन मलाई मार्यो…’ बोलको गीत मलाई असाध्यै मन पर्छ ।

यही गीत मन पर्नुको कारण ?

९५ प्रतिशत गानाहरु प्रेमसँग सम्बन्धित हुन्छन् । र, प्रेम गीतले सबैलाई छोएकै हुन्छ ।

गीतले भनेजस्तै तपाईको आफ्नो जिबनमा चाहीँ कतिका आँखाले मार्यो नि ?

मार्न त धेरैका आँखाले मार्यो होला तर आफुले चैं एकजना सँग मात्रै मारियो ।

विहे गरेको कति साल भो ?

२७/२८ वर्ष भयो ।

लभ कि एरेञ्ज ?

मिक्स ।

तपाईँको आफ्नो प्रेम कहानी सुनाउनुहोस् न ?

त्यस्तो सुनाउन योग्य कहानी नै छैन कसरी सुनाउँ । सानैमा आमा वितेकाले विहे गर्ने उमेर नै नपुगी बिहेको दबाब आइरहेको थियो । त्यसैले बिहे गर्ने उद्देश्यले जसलाई मन पराएँ, उहीसँग बिहे भयो ।

पहिलो भेट कसरी भयो ? कसरी प्रस्ताव गर्नुभयो ? र, कसरी त्यो प्रेम बिबाहमा परिणत भयो ?

मेरो श्रीमतिको नाम सुचिता हो । उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्थिन् । अल्लारे उमेरमा साथीभाई भेट्न म पुल्चोक गइरहन्थेँ । त्यही समयमा उनीसँग भेट भएको हो । पहिलो भेटमै सुचितालाई श्रीमति बनाउन पाए हुन्थ्यो लाग्यो । तर, म सिधै भन्न नसक्ने । म निकै लजालु थिएँ । त्योबेला इमेल थिएन । टेलिफोन पनि खासै थिएन । उनको घर कता रहेछ भनेर पत्ता लगाउँदा टेकुमा रहेछ । त्यसपछि मैले चिठी लेखेर पठाएँ ।

चिठीमा के लेख्नुभएको थियो ?

मैले सीधै विहेको प्रस्ताब गरेको थिएँ । एक्लो छोरो हुँ, तिम्रो लायक छु । हाम्रो जात पनि मिल्छ । भेट्दा भन्ने आँट नआएको हो वास्तवमै म तिमीसँग विवाह गर्न चाहन्छु, यस्तै यस्तै लेखेको थिएँ । जेहोस् धेरैपटक सम्पादन गरेर भएपनि परिपक्क प्रमेपत्र लेखेको थिएँ ।

त्योभन्दा अघि पनि यस्ता चिठीहरु लेख्नुहुन्थ्यो ?

अहँ, सुचितालाई नै मैले पहिलो प्रमेपत्र लेखेको हुँ ।

कसैले नसिकाई पहिलो प्रमेपत्र परिपक्क हुनसक्छ ?

म व्यवहारले परिपक्क भएर होला, प्रमेपत्र पनि परिपक्क भएको । खै कहाँबाट आयो, त्यस्तो परिपक्क भाव म आफैंलाई पनि था छैन ।

त्यो प्रमेपत्र अझै छ कि च्यातेर फालिसक्नु भयो ?

त्यो लभलेटर अझैपनि उनले दराजमा चावी लगाएर सुरक्षितसाथ राखेकी छन् ।

रिप्लाई पाउन कति समय कुर्नुपर्यो ?

मैले चिठी मै मेरो घरको टेलिफोन नम्बर दिएको थिएँ । उनको रिप्लाई आएन । तर, एकजना केटीले बारम्बार मलाई फोन गरेर गफ गर्न थाली । म पनि गफ दिन थालेँ । दुईहप्ता पछि पो थाहा भयो, मलाई फोन गर्ने ती केटी त सुचिता रहिछन् । मेरो बारेमा बुझ्न अपरिचित भएर उनले फोन गरेकी रे । मलाई टेस्ट गर्नुसम्म गरिसकेपछि मात्रै उनले आफ्नो परिचय दिइन् । त्यसपछि हामी भेट्यौं । र, लभलाई एरेञ्जमा परिणत गर्यौं ।

###

तपाई खानको सोखिन कि लाउनको ?

म खान र लाउन दुबैको सोखिन हुँ ।

हातमा सलमानको जस्तो चेन लगाउनुभएको रहेछ नि ?

मैले सलमानको जस्तो भनेर चै किनेको होइन । मलाई मन परेर किनेको हुँ । सलमानको जस्तै परेछ ।

तपाईले किनेकामध्ये महंगो कपडा ?

म प्राय ब्राण्डेड र महंगै कपडा लगाउँछु । ब्राण्डेड कपडाहरु धेरै रिसर्च गरेर निर्माण गरिएको हुनाले त्यस्ता कपडाले सुहाउँछ । ४० हजार रुपैयाँ हालेर ह्युगो बोस ब्राण्डको सुट किनेको छु । यो नै मेरो जीबनको सबैभन्दा महंगो कपडा हो ।

हातमा रोलेक्स घडी देखिन्छ, कतिमा किन्नुभो ?

यो घडी मैले करिब ४ वर्षअघि ९ लाख रुपैयाँमा किनेको हुँ । अहिले त १५ लाख रुपैयाँ भन्दा रहेछन् ।

रक्सि कतिको पिउनुहुन्छ ?

मिल्ने साथीभाई भेट हुँदा पिउँछु । म सोसियल ड्रिंकर हो ।

छोराछोरी कति जना ?

एक छोरा, जो अध्ययनका क्रममा अमेरिकामा छ । छोरी भर्खर ७ क्लास बढ्दैछ ।

रिटायर्ड कहिले हुने हो ?

जागिर खाएको भए पो रिटायर्ड हुने कुरा गर्नु । व्यवसायमा के को रिटायर्ड ?जब काम गर्दा थाकिन्छ तब मात्रै रिटायर्ड हुने हो ।


पुष्प दुलाल