गाडी आयातको चिन्ता छाडौं, चामल र तरकारी उत्पादन बढाऔं



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा एउटा कुरा बारम्बार भनिरहन्छन् । त्यो हो,-‘हामीले खानको लागि कृषि उपजको आयात अत्याधिक आयात गरिरहेका छौं । हामीकहाँ केही पनि उत्पादन नहुने रहेछ । बाहिरबाट ल्याउने कृषि उपज यही उत्पादन गरौं ।’

पछिल्लो एक महिनादेखि सवारी आयात बढेको र बैंकहरुले अनुत्पादक क्षेत्रमा अत्याधिक कर्जा दिएको चर्चा बढी छ । तथ्यांक हेर्ने हो भने पुस मसान्तसम्ममा ४४ अर्ब रुपैयाँको गाडी र पार्टपुर्जाको आयात भएको छ । पेट्रोलियम पदार्थको भने ४९ अर्ब रुपैयाँको आयात भएको छ ।

पुस मसान्तमा हामीले हामीले भात खानको लागि ११ अर्ब रुपैयाँको चामल आयात गरेका छौ । यस्तै ६ अर्ब २३ करोड रुपैयाँको तरकारी तथा २ अर्ब ५८ करोड रुपैयाँको फलफुल आयात भएको छ । यो वर्ष धान उत्पादन बढेकै कारण सरकारले ६ प्रतिशतको आर्थिक बृद्धि हासिल हुने अनुमान सरकारले गरेको छ । धानको उत्पादन बढेपनि अघिल्लो वर्षको तुलनामा आयात ४२ प्रतिशतले बढेको छ ।

चामल, तरकारी र फलफुल खानको लागि मात्र हामीले पुस मसान्तमा २० अर्ब रुपैयाँ खर्च गरेका छौं ।

यो तथ्यांक हेरेर गभर्नरले बारम्बार चिन्ता व्यक्त गर्दै आएका हुन् । कृषि उत्पादन बढाउनका लागि सरकारले ६ प्रतिशत व्याजदरमै कृषि कर्जा उपलब्ध गराउने भएकाले नजिकको बैंकमा गएर यो सहुलियत व्याजदरमा ऋण लिएर कृषि उद्यमी बन्न गभर्नरको आग्रह छ ।

पछिल्ला वर्षहरुमा नेपाल अत्यावश्यक वस्तुहरुमा अत्याधिक परनिर्भर हुँदै गएको छ । यसले नेपाली अर्थनन्त्रलाई गंभीर मोडमा धकेलिरहेको छ ।

गाडी र पेट्रोलियम पदार्थको आयातको लागि अहिले हामीसँग बिकल्प छैन । तर, कृषि उपजको लागि स्वदेशमै उत्पादन गर्नसक्ने पर्याप्त अवसरहरु छन् । त्यसैले गाडी आयात बढ्यो भन्दै रोइलो गर्नुभन्दा कृषि उत्पादन बढाउनतर्फ लाग्नुपर्ने देखिन्छ ।


पुष्प दुलाल