भारतले ढुवानी भाडामा लगाएको ४.५ प्रतिशत सर्भिस ट्याक्स हट्यो




काठमाडौं । भारत सरकारले तेस्रो मुलुकबाट भारतको बाटो हुँदै आयात हुने जहाजको भाडामा लगाएको ४.५ प्रतिशत सेवा शुल्क हटाएको छ ।

यो पनि पढ्नुहोस्- ढुवानी भाडामा भारतले लगायो ‘सर्भिस ट्याक्स’, नेपाली व्यवसायीले करोडौ तिर्नुपर्ने

नेपालका उद्योगी-व्यवसायीले उक्त करले समस्या सिर्जना भएको भन्दै निजी र सरकारी दुबै स्तरबाट आग्रह गरेपछि भारत सरकारले नेपालका लागि भने त्यस्तो सर्भिस ट्याक्स नउठाउने निर्णय गरेको हो ।

भारत सरकारले गत जनवरी २२ देखि ढुवानी भाडामा सर्भिस ट्याक्स लिँदै आएको थियो । सर्भिस ट्याक्स लगाउने निर्णय जनवरी १२ मै भएको थियो ।

भारतले लगाएको उक्त सर्भिस ट्याक्स विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौताको दफा-११ बिपरित भएकाले नेपालले सो कर फिर्ता लिन आग्रह गर्दै आएको थियो ।

‘अन्र्तराष्ट्रिय कानूनअनुसार भारतले तेस्रो मुलुकबाट नेपालका लागि हुने ढुवानीमा सेवा शुल्क लिन मिल्दैनथियो,’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले क्लिकमाण्डूसँग भने, ‘त्यसैले सेवा शुल्क हटाउन हामीले आग्रह गरेका हौं । भारतीय पक्षले हाम्रो अनुरोधलाई स्वीकार गर्दै यस्तो शुल्क हटाएको जानकारी दिएको छ ।’

भारतले यस्तो शुल्क लगाउँदा नेपाली व्यवसायीहरुमा थप करोडौं रुपैयाँको भारत थपिने र त्यसले महंगी बढाउने मुरारकाको भनाई छ ।


पुष्प दुलाल