‘नेपाल पूर्वाधार सम्मेलन-२०१७’ सम्पन्न, कुलमान सम्मानित




काठमाडौं । ‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित आयोजना भएको दुईदिने ‘नेपाल पूर्वाधार सम्मेलन–२०१७’ सम्पन्न भएको छ ।

सम्मेलनमा क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा सार्वजनिक–निजी साझेदारीका सफल नमुना, पूर्वाधारको अवस्था, लगानी वृद्धिका लागि आवश्यक वातावरण, पूर्वाधारको बजार, लचिलो वित्तीय व्यवस्था र हरित पूर्वाधारलगायत विषयमा छलफल भएको थियो ।

नेपाल उद्योग परिसंघ(सिएनआई) आयोजना तथा नेपाल सरकार र युवा निर्माण व्यवसायी समाज सहआयोजक रहेको उक्त सम्मेलन विशेषगरी कृषि, ऊर्जा, यातायात र पूर्वाधारका विषयमा केन्द्रित भएको थियो । सम्मेलनबाट विकासका लागि आवश्यक लगानीको वातावरण निर्माण गर्नाका साथै दातृ निकायलाई लगानी अभिवृद्धि गर्न मद्दत पुग्ने आयोजकको भनाइ छ ।

सम्मेलको समापन गर्दै उपप्रधानमन्त्री विमलेन्द्र निधिले पूर्वाधार निर्माणमा प्रमुख साझेदारीका रुपमा निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्ने सरकारको नीति रहेको तथा आवश्यक वातावरण बनाउन र लगानीलाई सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

मुख्य सचिव डा सोमलाल सुवेदीले मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार आवश्यक भएकाले यसमा निजी क्षेत्र तथा दातृ निकायलाई लगानीमा आकर्षण गर्न सरकार लागिपरेको बताए ।

सिएनआइका अध्यक्ष हरिभक्त शर्माले पूर्वाधार निर्माणमा सरकारसँग साझेदारीका साथ अघि बढ्न निजी क्षेत्र उत्साहित रहेको उल्लेख गर्दै मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता र लगानीको वातावरण सिर्जना हुन जरुरी भएको बताए ।

यसअघि सम्मेलनको छलफल सत्रलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री डा रामशरण महतले सार्वजनिक निजी साझेदारीको अपरिहार्यतालाई ध्यान दिँदै सरकारले पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षण गर्ने रणनीति लिन जरुरी भएको धारणा राखे । सम्मेलनमा उद्योग क्षेत्रका ३० भन्दा बढी विज्ञ, नेपाल सरकारका मन्त्री, नीतिनिर्माता र विभिन्न विकास साझेदारको सहभागिता थियो । सम्मेलनमा मुख्य वक्ताका रुपमा भारतीय रेल्वे मन्त्री सुरेश प्रभु थिए ।

कुलमान सम्मानित

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई ‘बेस्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ पूर्वाधारमा वर्षका उत्कृष्ट योगदानकर्ता बाट सम्मान गरिएको छ । परिसंघले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याएबापत घिसिङलाई सम्मान गरेको हो ।

त्यसैगरी पूर्वाधार विकासमा उत्कृष्ट अवधारणा तयार गर्ने तीन जनालाई आइडिया स्टुडियोका तर्फबाट नगदसहित सम्मान गरियो । यसरी सम्मानित हुनेमा काठमाडौँ उपत्यकामा मोनोरेलको आइडिया ल्याउने स्नेहा मेहता १ लाख रुपैयाँ तथा द्रुतमार्गतर्फ निर्मला सुवाल र सुवास रिजाल रहेका छन् । रासस


क्लिकमान्डु