नेपाली सेनाले भन्यो- हामीले जिम्मा लिएका सडकमा कुनै अवरोध छैन



काठमाडौं । केही दिन अगाडि व्यवस्थापिका संसद्को विकास समितिमा नेपाली सेनाले निर्माणको जिम्मा लिएका सडक आयोजनाको सांसदहरु सन्तुष्ट भएको प्रतिक्रिया दिए ।

संसदको विकास समितिले सेनालाई सडक निर्माणमा आवश्यक पर्ने बजेट १५ दिनभित्र उपलब्ध गराउन निर्देशनसमेत दियो ।

जाजरकोट डोल्पा-दुनै सडक आयोजना, कालीगण्डकी करिडोर, त्रिशुली-स्याप्रुबेसी र सुवागढी सडक अन्तर्गतको मैलुङ खोला सडकखण्ड तथा कर्णाली करिडोर गरी पाँच सडकको जिम्मा सेनाले लिएको छ ।

सरकाले हालै मात्र गोरखाको आरुघाट लार्केभन्ज्याङ् सडकखण्ड निर्माणको जिम्मा पनि सेनालाई नै दिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्की सेनाले जिम्मा लिएको सडक आयोजनामा लक्ष्य अनुसार भौतिक निर्माणको काम भएको बताए ।

‘हामीले जिम्मा लिएका सडक आयोजनाको काम सहज ढंगबाट संचालन भएको छ । लक्ष्य लिए अनुसार नै सडक निर्माणको काम अघि बढ्छ,’ कार्कीले क्लिकमाण्डूसँग भने ।

जाजरकोट डोल्पा दुनै सडक

नेपाली सेनाले डोल्पा सदरमुकामसम्म सडक सन्जाल पुर्याउनका लागि नेपाली सेनाले काम गरिरहेको छ । सेनाले सडक आयोजनामा यो वर्ष ५.५ किलोमिटर सडक खन्ने जिम्मा पाएको छ । प्रवक्ता कार्कीकाअनुसार माघ महिनासम्म साढे २ किलोमिटर सडक खन्ने लक्ष्य लिएकोमा लक्ष्यअनुसार सडक निर्माणको काम अगाडि बढेको छ ।
चालु आर्थिक वर्षमा डोल्पा जिल्लाको त्रिवेणी करवाड खदाड ईलाकको १० किलोमिटर सेक्टरमा रक कटिङको काम भएको उनले जाकारी दिए ।

‘जसमध्ये १६ वटा कम्प्रेसर मेशिनद्धारा निर्माण काम भएको छ, १ सय किलोमिटर सडकमा १ सय ६ किलोमिटर सडकको ट्रायक खोलिएको छ भने सदरमुकाम दुनै जोड्नका लागि ११.२ किलोमिटर भिरखण्ड बाँकी रहेको छ,’ प्रवक्ता कार्कीले भने ।

कालीगण्डकी करिडोर

सेनाले यो सडकमा चालु आर्थिक वर्षमा २२ किलोमिटर सडक खन्ने जिम्मा पाएको थियो । सेनाका प्रवक्ता कार्कीका अनुसार माघ महिनासम्ममा १२ किलोमिटर सडक खन्ने लक्ष्यका साथ अहिले बागलुङ जिल्लाको पालुङ–खेलामा काम गरिरहेको छ ।

त्रिशुली-स्याफ्रुबेशी-रसुवागढी सडक

यो सडक चीनसँग सडक सन्जाल जोड्नका लागि रणनीतिक योजनाको सडक हो । सेनाले चालु आर्थिक वर्षमा ७ किलोमिटर सडक खन्ने लक्ष्य लिएकोमा माघ महिनासम्म ३ किलोमिटर सडक खनिएको छ । सरकारले १४ किलोमिटर थप सडक निर्माणको जिम्मा दिएको हुँदा यसको लागि वातावरणिय मुल्यांकनको काम भइरहेको छ ।

कर्णाली करिडोर

यो करिडोरमा सेनाले आर्थिक वर्षमा २८ किलोमिटर सडक खन्ने जिम्मा पाएको छ । माघ महिनासम्ममा २० किलोमिटर सडक खनिएको र माघ महिनामा मात्र ६ किलोमिटर सडक खनिएको जानकारी सेनाले दिएको छ । सडक खण्डमा पर्ने कालिकोट जिल्लाको शान्तीगाड १५ किलोमिटरसम्म जिप तथा मिनी ट्रक लगायतका सवारी संचालनमा आइसकेका छन् ।


पुष्प दुलाल