रोजगारीको अवसर दिदै बिराट एक्स्पो



विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बुधवारदेखि कृषि तथा औद्योगिक प्रदर्शनी विराट एक्स्पो–२०७३ हुने भएको छ । यसको तयारी अन्तिम चरणमा हुने आयोजकले जानकारी दिए ।

सो प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि उद्घाटन गर्ने उद्योग संगठन मोरङको अध्यक्ष मुकेश उपाध्यायले जानकारी दिए ।

प्रदर्शनीमा औद्यौगिक उत्पादन, कृषि, जडीबुटी उत्पादन, कृषि औजार, सूचना प्रविधि, वैकल्पिक ऊर्जा, अटोमोबाइल्स तथा पार्टस् हस्तकलाका सामग्री, विद्युतीय सामग्री, घरायसी सामग्री र खाद्य पदार्थ बिक्रीका लागि २५४ वटा व्यापारिक कक्ष स्टल रहने छन् ।

त्यसैगरी, एक्स्पोमा रोजगारी मेलाको समेत व्यवस्था गरिएको छ । कुनै उद्योगमा कर्मचारीको आवश्यकता परे एक्स्पोमा सम्पर्क गरी आवश्यक सम्झौता गरेर लग्ने व्यवस्था मिलाइएको छ ।
यसका साथै, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले हेलिकोप्टरबाट माउन्टेन फ्लाइटकोसमेत व्यवस्था गरिएको छ । एक घन्टाको माउन्टेन फ्लाइटबाट ७ हजार रुपैयाँ ५ सय रुपैयाँमा पूर्वी क्षेत्रका हिमाल– कञ्चनजंघा, मकालु र सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको अवलोकन गराइने व्यवस्था गरिएको छ ।

एक सातासम्म जारी रहने सो एक्स्पोमा भारतको विहार, पश्चिम बंगाल तथा मुलुक भित्रका समेत गरी तीन लाख दर्शकले मेलाको अवलोकन गर्ने ४० देखि ५० करोड रुपैयाँसम्मको कारोबार हुने विश्वास गरिएको अध्यक्ष उपाध्यायले बताए ।


क्लिकमान्डु