सहकारीलाई स्वरोजगार कोषको थोक कर्जा, फागुन भित्र प्रस्ताव बुझाउनुपर्ने



काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा लिन चाहने सहकारी संस्थाहरुलाई प्रस्ताव पेश गर्न आव्हान गरेकोछ । कोषले आज एक सूचना जारी गर्दै मापदण्ड पुगेका सहकारी संस्थाहरुले फागुन मसान्तभित्र कर्जा माग प्रस्ताव गर्न भनेको हो ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र दुर्गम जिल्लाहरुका लागि कोषले कर्जा लिन चाहने सहकारी संस्थाहरुका लागि फरक फरक मापदण्ड तोकेको छ ।

महानगरपालिका भित्र ८ लाख रुपैंया शेयर पुँजी भएको तथा ४०० जना शेयर सदस्य हुनुपर्नेछ भने संचालन अवधी दुई वर्ष पुरा गरेर अघिल्ला आवमा नाफा गरेको हुनुपर्नेछ ।

त्यसैगरी उप महानगरपालिकामा ५ लाख रुपैयाँ शेयर पुँजी भएको तथा ३०० जना शेयर सदस्य तथा संचालन अवधि एक वर्ष पुरा भई गत आवमा नाफा कमाएको हुनुपर्नेछ ।

नगरपालिकाका सहकारी संस्थाहरुका लागि भने ३ लाख रुपैंयाको शेयर पुँजी तथा २०० जना शेयर सदस्य भई दुई वर्ष पुरा गरेर नाफामा संचालन रहेको  हुनुपर्नेछ ।

त्यसैगरी नगरपालिका अन्तर्गत उत्पादनमुलक सहकारीहरुको हकमा भने २ लाख रुपैंयाको शेयर पुँजी तथा १०० जना शेयर सदस्य भई एक वर्षदेखि संचालनमा आएर नाफा कमाएको हुनुपर्नेछ ।

दुर्गम जिल्लाहरुमा कार्यरत सहकारीहरुको हकमा भने १ लाख रुपैंया शेयर पुँजी तथा ५० जना शेयर सदस्यका साथ संस्था दर्ता भई संचालनमा आएको मितिले एक वर्ष पुरा गरेको हुनुपर्नेछ ।

कोषले तय गरेको मापदण्डमा दुर्गम जिल्लाहरु अन्तर्गत हुम्ला, जुम्ला, मुगु, डोल्पा,कालिकोट, अछाम, बझाङ, बाजुरा र जाजरकोटलाई तोकिएको छ ।


क्लिकमान्डु