सूचना विभागलाई प्रविधिमैत्री बनाइनुपर्ने – सूचना तथा सञ्चारमन्त्री कार्की



काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना विभागलाई आधुनिक सूचना प्रविधिमैत्री बनाइनुपर्ने औँल्याएका छन् ।

सूचना विभागको आव २०७२/७३ को वार्षिक समीक्षा तथा वार्षिक प्रतिवेदन–२०७३ सार्वजनिक कार्यक्रममा सञ्चारमन्त्री कार्कीले सूचना व्यवस्थापन, पत्रिका अभिलेखीकरण र पत्रकार परिचयपत्र वितरणलाई व्यवस्थित र प्रभावकारी तुल्याउन विभागलाई प्रविधिमैत्री बनाउन जरुरी भएको बताए ।

हालको विभागको कार्यलाई क्रमशः गाउँपालिकास्तरसम्म पुर्याई जनतालाई सूचनाको हकको सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै विभागलाई सूचनाको केन्द्रका रुपमा विकास गर्न लागिएको जानकारी दिए ।

सञ्चारमन्त्री कार्कीले हुलाक सेवा विभागलाई प्रभावकारी बनाउन रेडियोको दर्ता, लाइसेन्स, फ्रिक्वेन्सी वितरण र नवीकरणको जिम्मा जिल्ला हुलाकलाई दिइने तयारी भइरहेको बताए ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले विभागलाई  नेपाल सरकारबाट भएका निर्णयको एकै ठाउँबाट सबैलाई सूचना प्राप्त हुनेगरी सूचना केन्द्रका रुपमा स्थापना गर्न लागिएको जानकारी दिए ।

‘विभिन्न मन्त्रालयले विभिन्न नीतिगत काम गरिरहेका हुन्छन्, नयाँ पुस्तिका निकालेका हुन्छन् ती कुरा मन्त्रालयबाट वितरण हुन्छ, सबै सूचना विभागबाटै वितरण गर्न सकियो भने सरोकारवालालाई सहज हुन्छ,’ उनले भने ।

विभागका महानिर्देशक वीरबहादुर राईले विभागको सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको बताए ।

सूचना व्यवस्थापन र पत्रिका अभिलेखीकरणलाई चुनौतीका रुपमा लिँदै विभागले सरकारका विभिन्न निकायमा छरिएर रहेका सूचनालाई एकीकृत रुपमा सङ्कलन, प्रशोधन तथा सम्प्रेषण, सूचनालाई कम्युटराइज्ड गरी सूचना वितरण गर्न लागेको जनाएको छ ।

विभागको वार्षिक प्रतिवेदनानुसार आव २०७२/७३ सम्म जम्मा सात हजार ३ सय ६९ पत्रपत्रिका दर्ता भएका छन् । दर्ता भएका कुल पत्रिकामध्ये दैनिक ६ सय ७६, साप्ताहिक दुई हजार आठ सय तीन र मासिक दुई हजार २ सय १४ छन् । विकास क्षेत्रगत रुपमा सबैभन्दा बढी मध्यमाञ्चल विकास क्षेत्रमा पाँच हजार छ सय ३८ र सबैभन्दा कम सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा दुई सय ४० पत्रिका दर्ता भएका छन् ।

विभागले आव २०७२÷७३ मा पत्रपत्रिका स्थायी दर्ता सिफारिस एक सय र अस्थायी दर्ता तथा नाम सिफारिस चार सय ९३ गरेको छ । उक्त आवमा स्वदेशी ९नयाँ जारी दुई हजार तीन सय १९, स्वदेशी नवीकरण दुई हजार चार सय ८० तथा विदेशी (नयाँ र नवीकरण) ३७ पत्रकार परिचयपत्र वितरण भएको बताइएको छ ।


क्लिकमान्डु