पुनः निर्माणको सद्भावना दूत धुर्मुस-सुन्तली



काठमाडौैं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हास्य कलाकार सीताराम कट्टेल( धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई एकीकृत वस्ती विकासको काममा जागरण एवम् प्रोत्साहित गर्ने लक्ष्यसहित सद्भावना दूत बनाउने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती निर्माण एवम् विकाससम्बन्धी कार्यका लागि कलाकारद्वयलाई सद्भावनादूत बनाउने निर्णय गरेको हो । भूकम्पपछिको पुनःनिर्माणमा कलाकारद्वयले गरेको प्रयास सराहनीय र अनुकरणीय रहेको भन्दै प्राधिकरणले सो निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ गिरानचौरमा कलाकारद्वयले भूकम्पपछिको पुनःनिर्माणका क्रममा एकीकृत बस्ती निर्माण सम्पन्न गरेका छन् । हाल महोत्तरीमा पनि सामूहिक बस्ती निर्माण गरिरहेका छन् । स्वपहलमा स्वदेश तथा विदेशबाट सहयोग जुटाएर निर्माण गरिएको सामूहिक बस्ती अनुकरणीय रहेको छ ।

बैठकले भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पश्चिमतर्फको भागलाई संरक्षण र प्रबलीकरणबारे जिम्मेवारीसमेत तोकेको जनाएको छ ।

कार्यकारी समिति सदस्य हरिराम पराजुलीको संयोजकत्वमा गठित कार्यान्वयन उपसमितिलाई सोही ढाँचामा सिंहदरबार परिसरमा रहेको ग्यालरी बैठकको पुनःनिर्माणको कार्य गर्ने जिम्मेवारी तोकेको छ ।

भूकम्पबाट प्रभावित व्यक्तिमध्ये अपाङ्गता, ज्येष्ठ नागरिक, बालबालिका र विपन्न परिवारलाई दिइने थप सहुलियतलाई निर्धारण गरिएको विधिअनुसार अगाडि बढाउने निर्णय गरेको छ ।

यसैगरी बैठकले पुस मसान्तसम्म पहिलो किस्ता लिइसकेका भूकम्प पीडितले चैत १५ गतेभित्र दोस्रो किस्ताका लागि आवेदन दिनका लागि पनि आग्रह गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत प्रा डा पोखरेलले बताए ।


क्लिकमान्डु