चुनाबलाई पुँजी बजारको लाल सलाम !




काठमाडौं । सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनलाई पुँजी बजारले रातो रङले स्वागत गरेको छ । सरकारले बैशाख ३१ गते स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेकै दिनदेखि पुँजी बजारको सूचक (नेप्से इन्डेक्स) रातो रङले पोतिएको हो ।

०५४ सालदेखि स्थानीय निकायको निर्वाचन नभएको सन्दर्भमा धेरै लगानीकर्ताहरुले निर्वाचनको घोषणा भएपछि नेप्से इन्डेक्स बढ्छ भन्ने सोचेका थिए ।

बजेट र मौद्रिक नीतिको मध्यावधि समीक्षामा पुँजी बजारको विषयमा केही पनि उल्लेख नभएकाले चुनावको मिति घोषणा गरे पनि त्यसको प्रभाव पुँजी बजारमा नपरेको अनुमान गरिएको छ ।

निर्वाचनको मिति घोषणा हुनुअघि राजनीतिकस्तरमा निर्वाचन हुन्छ हल्ला चल्न थालेपछि नेप्से इन्डेक्स बढ्दै आएको थियो ।

तर, मिति नै घोषणा भएपछि भने सेयर बजार लगातार घटेको हो । बजेट र मौद्रिक नीतिको मध्यावधि समीक्षामा पुँजी बजारको विषयमा केही पनि उल्लेख नभएकाले चुनावको मिति घोषणा गरे पनि त्यसको प्रभाव पुँजी बजारमा नपरेको अनुमान गरिएको छ ।

साताको अन्तिम दिन बिहीबार नेप्से इन्डेक्स ६५.६५ अंकले घटेर १३ सय ३७.४६ अंकमा झरेको छ । सरकारले फागुन ९ गते स्थानीय निकायको निर्वाचनको घोषणा गरेको थियो । निर्वाचको मिति घोषणा हुने दिन नेप्से ४.२४ अंकले घटेर सूचक १३ सय ६५.११ अंकमा ओर्लिएको थियो ।

त्यसयता लगातार नेप्से रातो रङले पोतिएको छ । फागुन १० गते सूचक ७.५४ अंकले घटेर १३ सय ५७.५७ अंकमा झरेको थियो । त्यसैगरी, ११ गते १३.४६ अंकले घटेर सूचक १३ सय ४४ अंकमा झरेको थियो ।

सरकारले चुनावको मिति घोषणा गरेपछि नेप्से सूचक मात्रै होइन, कारोबार रकम पनि लगातार घट्दै आएको छ ।

बिहीबार १ सय ३० कम्पनीका ७ लाख ६१ हजार कित्ता सेयर ३० करोड ४८ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बिहीबारको कारोबारमा होटल र अन्य समुहबाहेक सबै समुहगत उपसूचकहरु रातो रङले पोतिएका छन् । नेप्सेमा रातो रङले घटेको र हरियो रङले बढेको संकेत गर्छ ।

बिहीबार होटल समुहको उपसूचक १५.९२ र अन्य समुहको सूचक ३.७६ अंकले बढेको छ ।

यो दिन बीमा समुहको सूचक सबैभन्दा बढी अर्थात् ३५.८३ अंकले अंकले घटेको छ । त्यसैगरी, वाणिज्य बैंक समुहको ९.२५, विकास बैंकको ५.३९, उत्पादनमुलकको ५.०५, फाइनान्सको ३.३१ र जलविद्युतको सूचक १.६१ अंकले घटेका छन् ।

कसले कमाए ? कसले गुमाए ? 

बिहिबार सबैभन्दा बढि बैंक अफ काठमाण्डौं लुम्बिनीको ४ करोड ६४ लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी २ करोड २२ लाख र १ करोड १६ लाखसहित प्रभु बैंकको प्रमोटर र एभरेष्ट बैंकले बैंक अफ काठमाण्डौं लुम्बिनीलाई पछ्याएका छन् । चौथो र पाँचौमा क्रमशः महालक्ष्मी बिकास बैंक र प्रभु बैंक १ करोड ११ लाख र १ करोड २ लाखका साथ उभिएका छन् ।

त्यस्तै बिहिबार सबैभन्दा कमाउनेमा आरएसडिसि लघुबित्तका लगानीकर्ता छन् । उनीहरुले आफ्नो लगानीमा ७.९५ प्रतिशतले कमाएका छन् । र्फस्ट माइक्रो र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले ५.९५ र ५.८२ का दरले कमाएका छन् ।

यी तीन माइक्रोफाइनान्सपछि धेरै कमाउनेमा नेपाल ग्रामीण बिकास बैंक र कर्णाली बिकास बैंकका लगानीकर्ता रहेका छन् । उनीहरुले क्रकशः ५.६२ प्रतिशत र ४ प्रतिशतले कमाएका छन् ।


पुष्प दुलाल