आम्दानीको १० प्रतिशत बाबुआमालाई अनिवार्य दिनुपर्ने



काठमाडौं । अब आम्दानीको १० प्रतिशत रकम बाबुआमालाई छुट्याउनुपर्ने भएको छ ।

महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले बाबुआमालाई आफ्नो आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने नियम आउन लागेको जानकारी दिए ।
व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको बिहीबारको बैठकमा मन्त्री खड्काले ज्येष्ठ नागरिक ऐन संशोधनको अन्तिम चरणमा रहेको र यसले जन्मदिने बाबुआमालाई वृद्धाश्रममा पुर्याउने प्रवृत्तिलाई अन्त्य गर्ने बताए ।

बाबुआमालाई तिनका सन्तानले आफ्नो आयको कम्तीमा १० प्रतिशत छुट्याउनुपर्ने र बाबुआमाले पनि आफ्ना सन्तानलाई आफ्नो शतप्रतिशत अंश दिन नपाउने गरी ऐन संशोधन हुन लागेको हो ।

अहिले मन्त्रालयले वृद्धाश्रम अतिरिक्त वृद्धवृद्धाका लागि प्रमुख सहरमा ४ सय ९० वटा दिवा हेरचाह केन्द्र सञ्चालनमा ल्याएको छ । यस्ता केन्द्रमा अन्तरपुस्ता सम्बन्धलाई बलियो बनाउन ज्ञानगुन आदानप्रदान हुने गरेको मन्त्रालयले जनाएको छ ।
लैङ्गिक हिंसा निवारण कोष सञ्चालन नियमावलीलाई परिवर्तन गर्न लागेको मन्त्री खड्काले बैठकमा जानकारी दिए । हिंसामा परेका महिलाको उद्धार, राहत तथा उपचारका लागि सम्बन्धित जिल्लाका महिला विकास अधिकृतले २० हजार र मन्त्रालयले ५० हजार रुपैयाँ दिन सक्ने प्रावधानलाई संशोधन गर्न लागिएको हो ।

बैठकमा मन्त्री खड्काले समाजकल्याण ऐन, बालबालिका ऐन तथा ज्येष्ठ नागरिक ऐनसमेत संशोधनको तयारी भइराखेको जानकारी दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको लक्षित वर्गको खर्चभन्दा प्रशासनिक खर्च बढी हुने प्रवृत्तिलाई अन्त्य गर्न समाजकल्याण ऐन संशोधन हुन लागेको हो ।

बैठकमा सांसदहरु रत्नादेवी गुरुङ, दिनेशचन्द्र यादव, टिएल चौधरी, रञ्जना श्रेष्ठ र अनुराधा थापाले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याणको बजेट वृद्धि गर्न माग गरे ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले समितिले सरकारलाई दिएका निर्देशनलाई कार्यान्वयन गर्न आग्रह गरिन् । रासस


क्लिकमान्डु