गभर्नर भन्छन्ः गाडी र जग्गा किन्न पो बैंकमा पैसा छैन, उत्पादनमुलक क्षेत्रको लागि किन नहुनु ?




पाल्पा । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिबी नेपालले उत्पादनमुलक क्षेत्रको लागि पैसाको अभाब नभएको बताएका छन् ।

जग्गा खरिद र करोडका गाडी किन्ने ऋण दिनको लागि बैंकसँग पैसा नभएपनि उत्पादनमुलक क्षेत्रमा ऋण दिन जतिपनि पैसा भएको बताएका हुन् ।

पाल्पा महोत्सव–२०७३ को उद्घाटन गर्दै गभर्नर डा नेपालले उत्पादनमुलक क्षेत्रमा कर्जा दिन बैंकहरुसँग प्रशस्त पैसा भएको बताएका हुन् ।

‘पढे लेखेका युवाहरुको पैसा कमाउनका लागि जागिर खाने र विदेश जाने सोच नहटेसम्म मुलुक आर्थिकरुपमा सम्पन्न हुन सक्दैन,’ गभर्नर नेपालले भने । उत्पादनमुलक क्षेत्रमा युवाको आकर्षण बढेपछि देशको विकास हुने उनको भनाइ छ ।

पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा फागुन १२ देखि सञ्चालित महोत्सव फागुन २२ गतेसम्म चल्नेछ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक, राउटेद्वारा निर्मित काठका सामाग्रीको प्रर्दशनी तथा बिक्री वितरणका साथै टर्की चरा, उँट, अष्ट्रिज चरा, रानीमहलभित्र पाल्पा जिल्लाका विभिन्न ऐतिहासिक धार्मिक पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी लगायत रहेका छन् ।

महोत्सवको अवधिमा कोलबाट पेलिएको उखुको खुदो, विद्यालयस्तरीय नृत्यु प्रतियोगिता, विज्ञान सम्वन्धी सामाग्री प्रर्दशनी, लोकदोहरी प्रतियोगिता, राष्ट्रिय कलाकारद्धारा नृत्य तथा लोकदोहोरी, आधुनिक, पप, रोईला, हास्य व्यंग, स्थानीय खाना तथा खाजाका परिकार साथै बाल उद्यानको समेत व्यवस्था गरिएको छ ।

महोत्सव अवधिमा ८ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्ने र दुई लाख ५० हजार बढीले महोत्सवको अवलोकन गर्ने लक्ष्य लिइएको पाल्पा उद्योग वाणिज्य संघका महासचिव यादव कार्कीले जानकारी दिए । महोत्सवमा कृषि, स्थानीय उत्पादनका ४६३ स्टल रहेका छन् । रासस


क्लिकमान्डु