निर्वाचन मिति घोषणाले गाविस सचिवहरु उत्साहित



पोखरा। स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि कास्कीका अधिकाँश गाविस सचिव उत्साहित भएका छन् ।

झन्डै उन्नाइस वर्षपछि स्थानीय तहको निर्वाचन हुने भएपछि जनप्रतिनिधिको भूमिकासमेत निर्वाह गर्दै आएका गाविस सचिवले अब आफुहरुको जिम्मेवारीको बोझ हट्ने विश्वास लिएका छन् ।

विसं २०५४ मा स्थानीय निकायको निर्वाचन भएको र २०५९ मा म्याद सकिएपछि सबै स्थानीय निकाय जनप्रतिनिधिविहीन भएका थिए र ती निकायको जिम्मेवारी गाविस सचिवको काँधमा आइपरेको थियो ।

यही फागुन ९ गते बसेको मन्त्रिपरिषदको बैठकले आगामी वैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि गाविस सचिवले अब आफुहरुले बोक्दै आएको गरुङ्गो भारी बिसाउन थालेको भान भएको टिप्पणी गरेका छन् ।

पुरुन्चौर गाविसका सचिव हरिप्रसाद अधिकारीले स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधि निर्वाचित भएर आएमा गाविस सचिवको कार्यबोझ घट्ने विश्वास व्यक्त गरे ।

‘स्थानीय तहमा जनप्रतिनिधि आएपछि कामको जिम्मेवारी बाँडिन्छ,’ उनले भने,’जनप्रतिनिधि आइसकेपछि गाविस सचिवले तोकेको जिम्मेवारीलाई सहज ढङ्गबाट अगाडी बढाउन सकिन्छ ।’

कालिका गाविस सचिव शोभाखर ढकालले जनप्रतिनिधि निर्वाचित भएर आएपछि स्थानीय जनताले बढी सेवा सुविधा पाउन सक्ने बताउँदै जनप्रतिनिधि नभएको अवस्थामा सचिवले सेवा त पुर्याएकै भएपनि जनप्रतिनिधि र निजामती कर्मचारीले दिने सेवा सुविधामा फरक पर्ने बताए ।

‘जतिसक्दो छिटो स्थानीय तहको निर्वाचन हुनुपर्ने माग गाविस सचिवको रहेको छ,’ उनले भने ।

ल्वाङघलेल गाविसका सचिव टीकाराम आचार्यले दुई दशकसम्म स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा जति विकास हुनुपर्ने हो, त्यो हुन नसकेको बताउँदै जनप्रतिनिधिको अभावमा विकासका लागि आवश्यक पर्ने स्रोत र साधन जुटाउन गाविस सचिवलाई गार्हो भइरहेको धारणा व्यक्त गरे ।

धम्पुस गाविसका सचिव विष्णुप्रसाद अधिकारीले पनि जतिसक्दो छिटो स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आउँदा राम्रो हुने विचार व्यक्त गरे ।

जिल्ला निर्वाचन कार्यालय कास्कीले सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि यसका लागि आवश्यक  तैयारीलाई तीव्र पारेको छ । निर्वाचनलाई नै मध्यनजर गरी कार्यालयले गत पुस १० गतेदेखि माघ १५ गतेसम्म फोटोसहितको नयाँ मतदाता नामावली सङ्कलन कार्य सम्पन्न गरेको छ ।

कार्यालयले जिल्लाका दुई नगरपालिका र ३२ गाविसमा  ६ वटा मतदाता नामावली सङ्कलन टोली खटाएर चार हजार ३८३ जना थप मतदाताको नाम सङ्कलन गरेको कार्यालयका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिए।

तीमध्ये दुई हजार ३१९ पुरुष र दुई हजार ६६ महिला छन् । मृत्यु भएका, दोहोरो नाम भएका, त्रुटी सच्चाउने र बसाइँसराइ भएका मतदाताको अद्यावधिक गर्ने काम पनि सुरु गरेको कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि जिल्लाका राजनीतिक दललाई निर्वाचन कार्यालयमा दर्ता गराउन गरेको आह्वानअनुसार जिल्लामा २३ वटा राजनीतिक दलले नाम दर्ता गराएका छन् ।

स्थानीय तह पुनःसंरचना आयोगले पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका समेटेर पोखरा महानगरपालिका बनाउन तथा ३२ वटा गाविसलाई मिलाएर रुपा, मादी, माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिका बनाउन सिफारिस गरिसकेको छ ।


क्लिकमान्डु