कपाल काटेरै महिनाको २ लाख कमाउँछन्, यी युवा




पर्वत । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका पर्वतका एक युवाले सैलुन व्यवसायबाट मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् ।

खाडी मुलुक दुबईमा पुगेर २ वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि घरमै फर्केर सैलुन व्यवसाय सुरु गरेका बानपा-२ का २७ वर्षीय राजन पौडेलले अहिले घरमै बसेर मनग्य आम्दानी गर्न थालेका हुन् ।

विदेशबाट घर फर्किएपछि राजधानीमा बसेर ६ महिना हेयर डिजाइनर तालिम लिएर पुनः घर फर्केर सैलुन व्यवसाय सुरु गरेपछि जीवनमा सोचेभन्दा पनि राम्रो आम्दानी गर्न सफल भएको उनले बताए ।

अहिले बागलुङ बजारको पुरानो बसपार्क नजिकै रहेको आफ्नै घरमा ‘मार्क रविन्स सैलुन एयर एन्ड ब्युटी फर लेडिज एन्ड जेन्स’ पसल खोलेर पौडेलले व्यवसाय गर्दै आएका छन् ।

परिवारका कान्छा छोरा हुन् उनी, उनका बाबु नेपाल बैंकको पूर्वम्यानेजर ।

‘पैसाको त खासै कमी थिएन, विदेश जानुपर्ने बाध्यता पनि थिएन । तर बालहठका कारण विदेश गएँ युएईमा पनि यस्तै पार्लरमा काम गर्ने अवसर पाएँ । र, त्यसैको प्रेरणाबाट नेपाल फर्केर सैलुन व्यवसाय सुरु गरेँ’ पौडेलले भने ।

सुरुमा त घरपरिवार र समाजले समेत यस्तो व्यवसाय नगर्न सुझाव मात्र होइन दबाब दिएका बताउँछन्, उनी ।।

‘काम भनेको सानो ठूलो हुँदैन भनेर आफूले रु ६ लाख लगानी गरेर व्यवसाय थालेको हुँ” पौडेलले भने ।

हाम्रो समाजमा अझै पनि सैलुन व्यवसाय भनेको भारतीय मूलका नागरिकले नै गर्ने हो भन्ने प्रचलन रहेको छ । ठूला सहरबजारदेखि साना व्यापारिक केन्द्रसम्म उनीहरूकै वर्चस्व पनि छ । त्यसैले समाजको बुझाईसमेत नेपालीले गर्नुहुँदैन भन्ने हुँदाहुँदै पनि उनले सैलुन व्यवसाय सुरु गरेका हुन् ।

व्यवसाय सुरुवातका केही समय त आफ्नो सैलुनमा कोही पनि नआउने, यसले जान्दैन भन्ने गर्दथे तर विस्तारै आफ्नो मेहनत र कलाकौशलका कारण अहिले उनको पसल धौलागिरि अञ्चलकै नमुना बनेको छ ।

उनको पसलमा पुरुष मात्र होइन महिलाको पनि उत्तिकै आकर्षण रहेको छ । बढिजसो अफिसियल र टिनेजर्स मेरोमा आउने गर्छन्, उनले भने ।

दैनिक ४० देखि ५० जनासम्म पुरुष र महिला विभिन्न सेवा लिनका लागि आउने गरेको राजनले जानकारी दिए ।

‘मासिक रु एक हजार २०० देखि रु एक हजार ५०० सम्मले सेवा लिने गरेका छन्’ उनले भने ।

मबाट सेवा लिएकाहरू अर्को पटक अर्को स्थानमा जान मान्दैनन् । ‘पोखरा, काठमामौं जहाँ पुगे पनि फर्की फर्की सेवा लिन आउने गरेका छन्,’ पौडेलले भने ।

तालिम नै लिएर व्यवसाय सुरु गरेकाले ग्राहकको जस्तोसुकै रोजाइको सेवा दिन सक्ने उहाँको क्षमता रहेको छ । दैनिक रु पाँच हजार देखि रु सात हजारसम्म कमाइ हुने गरेको उनको भनार्इ छ ।

व्यवसायमा गरेको लगानी पहिलो वर्षमा उठाएका राजनले अहिले भएको कमाइले आफ्ना छोराछोरी पढाउने र पैसा बैंकमा बचत गर्न थालेका छन् ।
‘यसबाट भएको कमाइको केही हिस्सा सामाजिक क्षेत्रमा लगानी गर्ने योजना छ,’ उनले भने ।

उनको व्यवसायबाट आफूमात्र होइन दुईजना पुरुष र एक महिला गरी अन्य तीनजनालाई पनि रोजगारी पाएका छन् । उनीहरूले आफ्नो सहयोगीका रूपमा काम गर्ने गरेको राजन बताउँछन् ।


पुष्प दुलाल