एशियामा पूर्वाधार विकास गर्न १५ खर्ब डलर चाहिने




काठमाडौं । एशियाली क्षेत्रमा विकास गर्नको लागि हरेक वर्ष १५ खर्ब अमेरिकी डलर चाहिने प्रक्षेपण एशियाली विकास बैंकले गरेको छ ।

हाल बिश्व आर्थिक बृद्धिको केन्द्र बनेको एसिया प्रशान्त क्षेत्रले यहि स्तरमा बृद्धिलाई निरन्तरता दिने हो भने सन् २०३० सम्ममा पूर्वाधारमा २२६ खर्ब डलर (२२.६ ट्रिलियन डलर) खर्च गर्नु पर्ने देखिएको छ । यो भनेको प्रत्येक बर्ष १५ खर्ब डलर (१.५ ट्रिलियन डलर) बराबरको लगानी हो ।

एसियाली बिकास बैंक (एडिबी) ले ‘मिटिङ एसियाज इन्फ्रास्टक्चर निड्स’ नामक रिर्पोट जारी गर्दै सो तथ्य सार्वजनिक गरेको हो । हालका पूवार्धारहरु, भावी आवश्यकता, बित्तिय ब्यवस्थापन लगायतको मुल्याङ्कन गरी बैंकले सो अध्ययन गरेको हो ।

हाल यस क्षेत्रमा करिब ८ सय ८१ अर्ब डलर बार्षिक रुपमा लगानी हुँदै आएको छ । तर, अहिले पूर्वाधारको माग र आपुर्ती बिचको खाडल ठूलो छ । यस खाडलको पूर्तीका लागि सन् २०१६ देखि २०२० सम्म यस क्षेत्रको कुल ग्राहस्थ उत्पादनको २.४ प्रतिशत पूर्वाधारमा खर्चनुपर्ने हुन्छ ।

‘एसिया प्रशान्त क्षेत्रमा हालको पूर्वाधार आपुर्तीलाई मागले धेरै नै उछिनिसकेको छ’एडिबीका अध्यक्ष टाकिहाइको नाकावोले भने, ‘एसियालाई अहिले नयाँ र उननत स्तरको पूर्वाधारको आवश्यकता छ,जसले आर्थिक बृद्धि र पर्यावरणका मुद्धाहरुको चुनौती सामना गर्न सकोस्।’

रिर्पोटमा उल्लेख भएका ४५ देशहरुमा उल्लेख्य पूर्वाधार बिकास भएको जनाइएको छ, जसले आर्थिक बृद्धि, गरिबी निवारण र आममानिसको जिवनस्तर उकास्न ठूलो भूमिका खेलेको छ । तर, यो पर्याप्त भने छैन ।

अझै ४० करोड मानिस बिजुलीबाट बन्चित छन् । ३० करोड मानिसको सफा पिउने पानीमा पहुँच छैन । १.५ अर्ब मानिसको आधारभुत सरसफाईमा समेत पहुँच छैन । धेरै अर्थतन्त्रहरुमा आन्तरिक र बाह् बजारमा जोडिनका लागि बन्दरगाह, रेलमार्ग, बाटो आदिको खाँचो छ ।

‘एडिबी आफ्नो ५० बर्षको अनुभव र बिज्ञता प्रयोग गर्दै सदस्य राष्ट्रहरु सँग सहकार्य गर्ने सङ्कल्प गरेको छ । यो पूर्वाधारको खाडल पूर्तीका लागि निजी क्षेत्रको समेत ठूलो भूमिका भएको हुँदा निजी क्षेत्र सँग सहकार्यका लागि नीतिगत सूधारका कामलाई समेत एडिबीले बढावा दिनेछ ’ अध्यक्ष नाकावोले भने ।

कुल ६७ सदस्य (यस क्षेत्रबाट ४८) राष्ट्र भएको एडिबी एसिया प्रशान्त क्षेत्रमा सन् १९६६ देखि समावेशी आर्थिक बृद्धि, पर्यावरणीय हिसाबले दिगो बृद्धि, क्षेत्रीय समन्वय लगायतका काममा सक्रिय रहँदै आएको छ ।

 


क्लिकमान्डु