खानी विभागले भन्योः नेपालका खनिज खोज्न इच्छुक भए आउनुस्



काठमाडौं । खानी तथा भूगर्भ बिभागले नेपालका विभिन्न स्थानमा रहेका खनिजजन्य पदार्थको खोजीमा निजी क्षेत्रलाई फेरि सहभागी गराउने भएको छ ।

बिभागले करिब १ बर्षदेखि निजी क्षेत्रलाई खनिजजन्य पदार्थ खोजी गर्ने अनुमति दिन रोकेको थियो । आगामी १ चैतदेखि पुनः अनुमति दिन थालिने विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनालले जानकारी दिए ।

‘बिभागले करिब १ बर्षदेखि निजी क्षेत्रलाई खनिज खोज्ने लाइसेन्स दिन रोकेको थियो, आगामी १ चैतदेखि पुन अनुमति खुल्ला गर्दैछौं, लाइसेन्स खुल्ला गरेपछि स्वदेशी वा बिदेशी निजी क्षेत्रले नयाँ खनिजको पत्ता लगाउन सहज हुनेछ,’ महानिर्देशक खनालले क्लिकमाण्डूसँग भने ।

सरकारले खानीमा विदेशी लगानीका लागि बाटो खुल्ला गरिसकेको छ । खानी क्षेत्रमा बिदेशी लगानी भित्र्याउने ब्यवस्थासहितको नीति सरकारले पास गरिसकेको छ ।

सरकारले महत्वकांक्षी लक्ष्यसहित खानी तथा खनिज पद्धार्थसम्बन्धी नीति तयार पारेको छ । खानी तथा भुगर्भ विभागको सहयोगमा उद्योग मन्त्रालयले तयार पारेको नीतिमा आगामी १० वर्षभित्र खानी उद्योगमा १ खर्ब रुपैयाँ लगानी र ५० हजार जनालाई रोजगारी सुनिश्चित गर्ने उल्लेख छ ।

नेपालमा खनिज पद्धार्थ उत्खनन्को प्रचुर संभावना भएपनि हालसम्म यसको सदुपयोग गर्न नसकिरहेको अवस्थामा उद्योग मन्त्रालयले यस्तो लक्ष्यसहित खानी नीतिको मस्यौदा तयार पारेको हो ।

‘खनिज कार्यमा आवश्यक पर्ने व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न स्वदेशी तथा स्थानीय उद्यमीहरुलाई तालिमको व्यवस्था गरिनेछ । प्रत्यक्ष रुपमा ५०० जना भन्दा बढी रोजगारी श्रृजना गर्ने वा कम्तिमा १० अर्ब लगानी गर्ने खनिज उद्योगलाई पूर्वाधार निर्माणमा उच्च प्राथमिकता दिइनेछ,’ नीतिको मस्यौदामा भनिएको छ ।

प्रत्यक्ष रुपमा ५०० जना भन्दा बढी रोजगारी श्रृजना गर्ने तथा वातावरणमैत्री प्रविधि प्रयोग गर्ने खानी तथा खनिजजन्य उद्योगहरूलाई सम्मान गरिने तर अति अविकसित क्षेत्र, अविकसित क्षेत्र तथा कम विकसित क्षेत्रको हकमा स्वरोजगारीको मापक संख्या तोकिएको संख्याको ५० प्रतिशत भए पुगेको मानिने मस्यौदामा उल्लेख छ ।

भर्खरै सम्पन्न लगानी सम्मेलनमा नेपालका खानीमा विदेशी कम्पनीहरु लगानी गर्न इच्छुक देखिएका छन् । सरकारले देशका विभिन्न भागमा रहेका खानीहरुको बिवरण सो सम्मेलनमा लगानीकर्ता समक्ष पेश पनि गरेको थियो ।

खानी विभागले चैत १ गतेदेखि खुल्ला गर्ने खानी खोजतलासका लागि प्राविधिक र आर्थिक क्षमता भएका कम्पनीलाई अन्वेषण अनुपति दिने भएको छ । खानीमा लगानी गर्न इच्छुक कम्पनीलाई खानी दर्ताको नियम सहितको निवदेन लिएर सुरुमा आउनेलाई प्राथमिकता दिने खनालले बताए ।

नयाँ लाइसेन्स पाएको कम्पनीले अहिलेसम्म पत्ता लागेको भन्दा छुट्टै क्षेत्रमा अन्वेषण गरी त्यहाँ रहेका खनिजतत्वको मात्रा, परिणाम, सम्भाब्यता जस्ता कुराहरुको खोजतलास गर्नुपर्नेछ ।

कहाँ केको खानी छ ?
कालिकोट, काइनाइट २
आछाम, लिड २
दार्चुला, काइनाइट १, तल्स १
मकवानपुर, चुनढुङ्गा ८, मार्वल २
धादिङ, चुनढुङ्गा ४, मार्वल १, क्वर्ज
अर्घाखँची, चुनढुङ्गा १
उदयपुर, चुनढुङ्गा ४, रातो माटो २
चितवन, चुनढुङ्गा ३, डोलोमाइट १
सिन्धुली, चुनढुङ्गा १
सुर्खेत, चुनढुङ्गा १, रातो माटो २
धनकुटा, चुनढुङ्गा १, रातो माटो १
गोरखा, चुनढुङ्गा १, रातो माटो
तनहुँ, चुनढुङ्गा १, तल्स १
प्युठान, चुनढुङ्गा १
दोलखा, म्यागनेसाइट १, तल्स २
सङ्खुवासभा, क्वार्ज १
हुम्ला, क्वार्ज १
बझाङ, क्वार्ज १
भोजपुर, क्वार्ज १
सिन्धुपाल्चोक क्वार्जजाइट ल्याव ४, तल्स १
काभ्रे, क्वार्जजाइट ल्याव २
म्याग्दी, तल्स १
बैतडी, तल्स ३
धादिङ र रसुवा, जिन १, लिड १
दैलेख र कालिकोट काइनाइट १


क्लिकमान्डु