स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओले पनि घटाएन नेप्से



काठमाडौं । बुधबार नेप्से परिसूचक ९.०४ अंकले बढेर १३५६.१३ अंकमा पुगेको छ । मंगलबार ८.१४ अंकले घटेको नेप्से बुधबार करिब उस्तै अंकले सुधारिएको हो ।

स्ट्यान्डर्ड चार्टड बैंकको एफपिओ जारी भएसँगै घट्ने आंकलन गरिए पनि नेप्सेले केही स्थिरता देखाएको छ । यसको मतलब अब नेप्सेमा केही समय ठूलो उतारचढाव नआउने संकेत देखिन्छ ।

बुधबार १ सय ६ कम्पनीका ८ लाख ५५ हजार ५ सय १ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा भने ठूलो गिरावट आएको छ । मंगलबार ५२ करोडको कारोबार भएकोमा बुधबार निकै कम ३६ करोड ८९ लाख रुपैंयाँको मात्र कारोबार भएको छ । कुल कारोबार संख्या भने ३ हजार ९ रहेको छ ।

बुधबार सबै उपसूचकहरुमा हरियाली छाएको छ । बैंकिङ ७.६७, होटेल १४.४, बिकास बैंक ०.८८, जलबिद्युत् ६२.१५, बित्त ५.०३, बिमा ३७.१७, उत्पादन ३.०१ र ‘अन्य’ ६.०७ अंकले बढेका छन् ।

हिजो झैं आज पनि सबैभन्दा बढि ६ करोड ६१ लाखको कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयरको भएको छ । एसियन लाइफ इन्स्योरेन्सको ३ करोड ७६ लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी नेशनल लाइफ इन्स्योरेन्स र सानिमा बैंकको क्रमशः २ करोड १८ लाख र १ करोड ८७ लाख रुपैंयाँको कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढि ९.४५ प्रतिशतले नेशनल हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यसैगरी नयाँ नेपाल लघुबित्तको ८.०९, बुटवल पावर कम्पनीको ५.९१, अपि पावरको ५.८३ र सानिमा हाइड्रोको ५.२४ प्रतिशतले मुल्य बढेको छ ।

बुधबार सेती फाइनान्सको सबैभन्दा बढि ३.६१ प्रतिशतले मुल्य घटेको छ । यसैगरी धेरै गुमाउनेको सूचीमा कन्चन बिकास बैंक र ग्रीन डेभलप्मेन्ट बैंक दोस्रो र तेस्रोमा परेका छन् । उनीहरुको मुल्य क्रमशः ३.३३ र २.६७ प्रतिशतले घटेको छ ।


पुष्प दुलाल