‘लघु स्वास्थ्य बीमालाई सर्वसूलभ बनाउन नयाँ नीति अत्यावश्यक’



काठमाडौं । लघु स्वास्थ्य बीमालाई मुलुकको सबै क्षेत्रमा पुर्याउन र आवश्यक नीति बनाउन सरोकारबालाहरुले माग गरेका छन् ।

राष्ट्रिय माइक्रोफाइनान्स समिट नेपाल २०१७ मा आयोजित नेपालमा लघु स्वास्थ्य बीमा विषयक गोष्ठिमा कार्यक्रममा लघुवित्तको क्षेत्रमा पनि लघु स्वास्थ्य बीमालाई बिस्तार गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डिप्रोक्स नेपालका निर्देशक कैलाश रिजालले लघु स्वास्थ्य बीमाको बारेमा अझै जागरण गराउनुपर्ने बताए ।

उनले डिप्रोक्सले हाल विभिन्न जिल्लामा गरिरहेको लघु स्वास्थ्य बीमाको अभ्यासको अनुभव दिँदै लाभ प्याकेज बीमाग्राहीहरुको आवश्यकताअनुसार बनाउनुपर्ने बताए ।

‘बेनिफिट प्याकेज बीमितहरुको चाहनाअनुसार बनाउँदै क्वालिटी अफ सर्भिस दिन सक्नुपर्छ,’ उनले भने ।

कार्यपत्र प्रस्तोता रिजालले लघु स्वास्थ्य बीमाको ऐतिहासिक पक्ष र वर्तमान अवस्थाको बारेमा समग्रमा जानकारी दिँदै यूनिभर्सल हेल्थ कभरेजले भनेअनुसारको लघु स्वास्थ्य बीमा सरकारले ल्याउनुपर्नेमा जोड दिए ।

लघु स्वास्थ्य बीमा लिने व्यक्तिले वित्तिय जोखिममा पर्ने अवस्था आउन दिन नहुने भन्दै उनले सबैले प्राप्त गर्ने किसिमले ल्याउनुपर्ने बताए ।

‘आजपनि लघु स्वास्थ्य बीमा लागू गर्नका लागि मानिसहरु त्यति उत्साहित छैनन्,’ उनले भने ।
त्यसैगरि मेटलाइफका निर्देशक अरुण बस्नेतले स्वास्थ्य बीमा अझ गहिराईमा बुझ्नुपर्ने आवश्यकता रहेको औल्याए । यसको लागि सहकार्यमा नगई सफल हुन गाह्रो भएको उनको भनाई छ ।

‘हामीले अहिले पनि लघु वित्त संस्थासँग सहकार्यमा ४ लाख ग्राहकहरुलाई लघु स्वास्थ्य बीमाको सेवा दिईरहेका छौं,’ उनले भने ।

कम्पनीले गरेको कार्यहरुको बारेमा जानकारी दिँदै आगामी दिनमा पनि लघु वित्त संस्थाहरुसँग ‘हार्डकोर इस्न्योरेन्स’ को बारे छलफल भईरहेको स्पष्ट पारे ।

छलफलमा प्रिमियर इन्स्योरेन्स कम्पनीका डेपुटी महाप्रबन्धक सहदेव तिवारीले कम्पनीको ध्यान मध्यम वर्ग र उच्च मध्यम वर्गमा केन्द्रित रहेको बताए ।

उनले लघु वित्तको क्षेत्रमा हालसम्म लघु स्वास्थ्य बीमा जारी नगरेको भन्दै आगामी दिनमा सो क्षेत्रमा जान सकिने उल्लेख गरे ।

‘हाल सबैको सहकार्यमा बीमा समितीमा लघु स्वास्थ्य बीमाको प्रोडक्टबारे छलफल भईरहेको छ,’ उनले भने

डेपुटी महाप्रबन्धक तिवारीले कम्पनीले यो आर्थिक वर्षको ८ महिनामा नै ३ करोेड भन्दा बढि प्रिमियम उठाएको जानकारी दिए ।

त्यसैगरि कार्यक्रममा निर्धन उत्थान बैंककी कार्यकारी अधिकृत अन्जु पन्तले निर्धन उत्थान बैंकले पनि लघु स्वास्थ्य बीमा सेवा प्रदान गरिरहेको बताए ।

संस्थाले शुरुमा लघु स्वास्थ्य बीमा शुरु गरेपछि निरन्तरता दिन कठिन भएपछि बीमा सेवा शुरु गरेको जानकारी दिँदै पन्तले यो पूर्णरुपमा समुदायमाजमा आधारित हरेको बताए ।

‘यसको च्यालेन्ज भनेको पेमेन्टमा छ, त्यसैले धान्न गाह्रो छ,’ उनले भने ।

समुदायले नै यसमा सबै कार्य गर्ने हुँदा यसमा ठगी नहुने र शुन्य जोखिम रहेको उनले जिकिर गरे । सरकारले नै समुदायमा आधारित ‘कम्यूनिटी बेस्ड इन्स्योरेन्स’ गर्न सकेमा दिगो पहुँच पुग्ने पन्तको भनाई थियो ।

कार्यक्रममा छलफलमा सहभागी अन्य वक्ताहरुले विभिन्न प्रश्न गर्दै विपन्न वर्गलाई समेट्नेगरि एकिकृत बीमा नीति ल्याउनुपर्ने बताएका थिए ।

त्यस्तै हाल सरकारले ल्याएको लघु स्वास्थ्य बीमा सेवालाई प्रभावकारी बनाउन अहिलेको कानूनले नपुग्ने हुँदा नयाँ कानून बनाउन आग्रह गरेका थिए ।


पुष्प दुलाल