गभर्नरलाईं होटल व्यवसायीले भने- क्रेडिट कार्डको कमिसन १ प्रतिशतमा झारिदिनोस्



काठमाडौं । होटल व्यवसायीहरुले बैंकहरुले क्रेडिट कार्डमा अत्यधिक कमिशन लिने गरेको गुनासो गरेका छन् । उनीहरुले बिहीबार राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीबी नेपाललाँई भेटेरै यस्तो गुनासो गरेका हुन् ।

गभर्नरसँगको भेटमा होटल एसोसिएसन (हान) का महासचिव बिनायक शाक्यले अन्तर्राष्ट्रिय प्रचलनअनुसार क्रेडिट कार्डको कारोबार उच्च रहने हुँदा वित्तीय क्षेत्रले क्रेडिट कार्ड कमिसन २ बाट ३ प्रतिशत बनाएको उल्लेख गर्दै त्यसलाई १ प्रतिशतमा झार्नु पर्ने माग गरे ।

विदेशका विभिन्न ठाउँहरुमा होटलहरुको प्रवद्र्धन तथा अन्य कार्यक्रमहरु सञ्चालनार्थ सहजताका लागि होटल उद्योगले विदेशी बैंकहरुमा पनि खाता खोल्न स्वीकृति प्रदान गरिनुपर्नेमा पनि जोडदार माग राखे ।

पर्यटन उद्योग सेवामुखी र उत्पादन मूलक व्यवसाय भएको हुँदा पर्यटन उद्योगमा लगानी आकर्षण प्रोत्साहन स्वरुप न्यून व्याजदर कायम गरिनुपर्ने उनको माग छ ।

हानले राष्ट्र बैंकबाट सदस्य होटलहरुलाई प्रदान गरिएको विदेशी मुद्रा स्वीकार गर्ने इजाजत पत्रबाटै होटलमा बसेका पाहुनाहरुलाई विदेशी मुद्रा सटही सुविधा अनुमतिका लागि सहज व्यवस्था मिलाउन आग्रह पनि गरेको छ ।

व्यवसायीहरुको गुनासो र सुझाब सुनेपछि गभर्नर डा. नेपालले पर्यटन क्षेत्र त्यसमा पनि खरबौं लगानी रहेको होटल उद्योग पर्यटनको प्रमुख आधारस्तम्ब रहेको बताए ।

डा. नेपालले देशको पर्यटन क्षेत्रको विकासमा रहेको विविध समस्याहरुको समाधानका लागि हानलाई अनुकरणीय भूमिका निर्वाह गर्न सुझाव दिँदै दिए ।

पर्यटनको विकासका लागि राष्ट्र बैंक अत्यन्तै सकारात्मक रहेको र व्याजदर बारे वित्तीय संस्थाहरुसँग कुरा भइरहेको गभर्नरले जानकारी दिए ।


पुष्प दुलाल