उद्योगमन्त्रीको चमत्कारः ४० करोड घाटामा रहेको उदयपुर सिमेन्टको २५ करोड नाफा



काठमाडौं । लामो समयदेखि घाटामा रहेका सरकारी स्वामित्वका दुई सिमेन्ट कम्पनी नाफामा गएका छन् ।

उद्योग सञ्चालन र त्यसको व्यवस्थापनमा उद्योगमन्त्री नविन्द्रराज जोशीले विषेश सक्रियता देखाएपछि उदयपुर सिमेन्ट र हेटौंडा सिमेन्ट उद्योगले नाफा कमाएका हुन् ।

कुल क्षमताको सदुपयोग, लागत न्युनिकरण र बिक्री बढाएर सो उपलब्धी सम्भव भएको उद्योगमन्त्री जोशीले जानकारी दिए ।

‘सँधै ३०/३५ दिनसम्म मेसिन बिग्रियो भन्ने उद्योग ताल्चा लगाउने प्रवृत्ति थियो । मैले निकै कडारुपमा मेसिन राम्रोसँग बनाउनुस् र कुल क्षमताको कम्तीमा ७० प्रतिशत उत्पादन गर्न निर्देशन दिएको थिएँ,’ बिहीबार उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री जोशीले भने ।

आगामी बर्षदेखि सरकारले यी दुई कम्पनीलाई नाफाको लक्ष्य दिने र सो लक्ष्य प्राप्त नभए स्पष्टिकरण साधिने उनले जानकारी दिए ।

आफुले प्रत्येक दिन कति उत्पादन र बिक्री भयो भनेर मोबाइलमा तथ्याङ्क लिने गरेकोसमेत उनले सुनाए ।

मन्त्री जोशीका अनुसार यो बर्ष उदयपुर सिमेन्टले २५ करोड रुपैयाँ नाफा गर्ने छ । गत बर्ष यो कम्पनी ४० करोड रुपैयाँले घाटामा थियो ।

लामो समयदखि घाटामा रहेको उदयपुर सिमेन्टको कुल नोक्सान ४ अर्ब रुपैयाँको हाराहारी रहेको छ ।

त्यसैगरी, हेटौंटा सिमेन्टले पनि यो बर्ष २० करोड रुपैयाँ कमाउने अनुमान गरेको मन्त्री जोशीले सुनाए । अघिल्लो बर्ष सो कम्पनीले ४ करोड ३० लाख खुद नाफा कमाएको थियो ।

‘निजी कम्पनीहरु नाफामा जाने, तर उच्च मागका बाबजुद सरकारी कम्पनीहरु घाटामा जानुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘अब यी कम्पनी कहिल्यै घाटामा जाँदैनन् ।’

त्यसका लागि सरकारले उपकरणहरुको उचित ब्यवस्थापन, क्षमताको उपयोग र खर्च न्युनीकरणमा बिशेष ध्यान दिने उनले जानकारी दिए ।

उदयपुर सिमेन्ट उद्योगले चालू आर्थिक वर्षको फागुन मसान्त सम्ममा १७ हजार ७ सय टन सिमेन्ट उत्दपादन गरेको छ ।

उद्योगको २६ वर्षे इतिहासमा यो पटक सातौं बढी उत्पादन भएको हो । यसअघि एक पटक २१ हजार टन र ५ पटक १८ हजार टन सिमेन्ट उत्पादन भएको थियो ।

यो उद्योगबाट हाल प्रतिदिन ७ सय ८ टन सम्म सिमेन्ट उत्पादन भएको र यो दैनिक उत्पादन वितग १७ वर्षयताकै उच्च रहेको मन्त्री जोशीले सुनाए ।

यो वर्ष माघ १ गतेदेखि चैत २ गते अर्थात् ६२ दिनसम्म लगातार चौबिसै घन्टा उद्योग सञ्चालनमा आएको छ । यो २० वर्षदेखिको अवधिको सबैभन्धा बढी समय लगातार सञ्चालनमा आएको हो ।

यो वर्षको माघ र फागुनको उत्पादन उद्योगको कुल क्षमताको ७५ प्रतिशत हो । जबकी वितग १५ वर्षमा उद्योगले आफ्नो क्षमताको ३२ प्रतिशतभन्दा बढी उत्पादन गरेको थिएन ।


पुष्प दुलाल