लाइसेन्सको लिखित परीक्षामा २० मा १० प्रश्नको उत्तर मिलाए पास



काठमाडौं । सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अब लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ ।

यातायात व्यवस्था विभागले लिखितमा धेरै मानिस अनुत्तीर्ण भएको जनगुनासो बढेपछि कुल २० मा १० प्रश्नको  मिलाउने व्यक्तिलाई सवारीसाधन अनुमतिपत्रको परीक्षण दिन पाउने व्यवस्था शुक्रबारदेखि गरेको हो । यसबाट लिखित परीक्षामा धेरै परीक्षार्थी उत्तीर्ण हुने विश्वास विभागले गरेको छ ।

विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सबै नागरिकलाई सहज रुपमा सवारीसाधन अनुमतिपत्र लिन पाउन भन्ने उद्देश्यले नयाँ प्रक्रिया लागू गरिएको बताए ।

‘यसबाट लिखित परीक्षा दिँदा धेरै भिडभाड हुने, बिचौलियाको चलखेल हुनेलगायतका कुरा घट्छ,’ पाण्डेले भने ।

यसअघि सवारीसाधन अनुमतिपत्र लिँदा सय पूर्णाङ्कमध्ये १९ लब्धाङ्कको विषयगत र ८१ लब्धाङ्कको वस्तुगत प्रश्नको उत्तर दिनुपर्ने हुन्थ्यो । त्यसमा ४० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने गरेका थिए । विभागले लिखित परीक्षा दिएर अनुमतिपत्र लिएका चालकलाई फेरि अनुमतिपत्र लिँदा परीक्षा दिनु नपर्ने व्यवस्था गरेको डा. पाण्डेले बताए । रासस


पुष्प दुलाल