स्थिर सेयर बजारबाट लगानीकर्ताले कसरी फाइदा लिने



काठमाडौं । नेपाली सेयर बजार केहि समय यता स्थिर देखिन्छ । नेपालको वित्तीय संस्थाहरुमा भएको तरलता अभाव सँगै तिब्र गतिमा घट्न थालेको नेप्से परिसूचक अहिले थामिएको छ ।

नेप्से परिसूचक एतिहासिक १८८१ अंकसम्म पुगेर अहिले १३०० देखि १४०० अंकमा छ । अब कुनै ठूलो नीतिगत परिवर्तन, तरलता पूर्णरुपमा सहज भएर ब्याजदरमा कमी वा चुनाव सँगै राजनीति स्थिर नभएसम्म सेयर बजारमा खासै ठूलो उतारचढाव आउने देखिंदैन ।

बजार स्थिर हुँदैंमा पैसा कमाउन सकिदैंन भन्ने हुँदैन । अझ केहि लगानीकर्ता त स्थिर बजार निकैै पट्यारलाग्दो हुने बताउँछन् । तर, केहि साधारण रणनीति अपनाए स्थिर सेयरबजारबाट पनि फाइदा लिन सकिन्छ । हामीले केही लगानीकर्तालाई चाहिने उपाय प्रस्तुत गरेका छौ । हेरौ यी उपाय

राम्रो पोर्टफोलियोको सेयर खरिद

तपाईंले राम्रो मानेर आफ्नो पोर्टफोलियोमा महत्वका साथ राखेका सेयर किन्दै जानुस् । पहिला दिमागमा ठूलो तस्वीर बनाउनुहोस्, दीर्घकालमा सेयर बजार बढ्ने नै हो । एतिहासिक रुपमा सेयर बजारले दिने नाफा हिसाब गर्दा औसतमा ७ प्रतिशत हुन आउँछ । यो भनेको सम्पत्ती कमाउने सबैभन्दा उत्तम उपाय हो । यसको अर्थ, आफूलाई भविष्यको लागि सबैभन्दा उत्कृष्ट तरिकाले तयार पार्नु भनेको निरन्तर लगानी बढाउँदै लगेर नै हो ।

अब तपाईंले कुनै निश्चित उपयुक्त समय हेरेर मात्र लगानी गर्ने प्रयास गर्नुभयो भने के हुन्छ ? तपाईंले सहज ढंगले कमाउने नाफा कमाउन गुमाउन सक्नुहुन्छ । ‘एक दुई अवसर गुमेर के हुन्छ र ?’, भन्ने सोच्नुभएको छ भने, के कुरामा प्रष्ट हुनुस भने दीर्घकालमा यसले ठूलो अर्थ राख्छ । आफुलाई लागेको उपयुक्त समय (सामान्यत बजार बढ्न थालेपछि) पर्खेर मात्र सेयर किन्छु भन्ने सोच्नु भएको छ भने ठूला अवसरहरु गुम्न सक्छन् । त्यसैले स्थिर बजारमा पनि निरन्तर आफूले बिश्वास गरेका सेयर किनिरहनु राम्रो रणनीति हो ।

उदाहरणको लागि अमेरिकाको ‘एस एण्ड पी’ सेयर बजारलाई लिन सकिन्छ । त्यस बजारमा सन् १९९३ मा किनेको सेयर कसैले नबेची राखेको थियो भने त्यसको २० बर्ष पछि सन् २०१३ मा आइपुग्दा उसको सम्पत्तीमा ४८३ प्रतिशतले बृद्धि भएको थियो । बजारले भोगेको मन्दी देखि ठूला उतारचढावका बावजुद यहाँ ४८३ प्रतिशत नाफाको कुरा गरिएको हो ।

तर, २० बर्ष सेयर राख्नुको साटो यदि ‘उचित समय’ को खोजिमा कुनै लगानीकर्ताले यो २० बर्षको १० कारोबार दिन मात्र छुटाएको भए उसको नाफा १९१ प्रतिशतमा खुम्चिन्थ्यो । अझ ३० कारोबार दिन छुटाएको भए त झन पूरै सम्पत्ती गुम्थ्यो । उचित समयको खोजी गरेर गलत हुँदा निकै ठूलो मुल्य चुकाउनुपर्ने हुनसक्छ ।

सामान्यतः बिश्वभरका सेयरबजारका आधारभुत ब्यवहार उस्तै हुने हुँदा नेपाली लगानीकर्तालाई पनि यो रणनीति निकै सान्दर्भिक हुनसक्छ ।

लाभांश बढी बाड्न कम्पनीलाई प्राथमिकता

लाभांस धेरै बाँड्ने सेयरमा धेरै लगानी गर्नुहोस् । तपाईं अझै धेरै बर्ष काम गर्न सक्ने उमेरमा हुनुहुन्छ, र पारिवारिक दायित्व धेरै छैनन् भने ‘मुल्य बढ्ने’ सेयरमा पनि लगानी गर्न सक्नुहुन्छ । तर, पनि धेरै र निरन्तर लाभांस बाँड्ने सेयर खरिद गरिरहनु सबैका लागि राम्रो रणनीति हो । यसले निरन्तर आम्दानी दिनुका साथै सेयरबजारका उतारचढावहरुको सामना गर्न सघाउँछ ।

बिशेष गरेर लाभांस बाँड्ने कम्पनीको सेयर स्थिर बजारमा किन्दा तीन महत्वपूर्ण फाइदा हुन सक्छन् । पहिलो, लाभांसले बजार घटेमा ढालको रुपमा काम गर्नसक्छ । दोस्रो लाभांस फेरी पनि लगानी गर्दै भविष्यमा चक्रिय आम्दानी गर्न सकिन्छ । तेस्रो, लाभांस राम्रो ब्यवसायको संकेत भएको हुँदा धेरै लगानीकर्ता आकर्षित हुने र बजार बढ्दा सेयर मुल्य पनि धेरै बढ्न सक्ने हुन्छ ।

लगानी सम्बन्धित आधारभुत दृष्टिकोण

लगानी सम्बन्धी आफ्नो आधारभुत दृष्टिकोण बनाउनुस् र सो दृष्टिकोण सँग मेल नखाने सेयर बेच्दै जानुस् । यो रणनीति बजार घट्दा, बढ्दा वा स्थिर रहँदा उत्तिकै उपयोगी रणनीति हो ।

सेयर किन्नु अघि आफुले किन्ने सेयरका बारे बिस्तृत अध्ययन त गर्नैपर्ने हुन्छ । तर, समय समयमा आफ्नो लगानी दृष्टिकोणमा सो सेयर फिट हुन्छ कि हुँदैन भनेर निरन्तर बिश्लेषण पनि गरिरहनुपर्छ । बजारको सामान्य घटबढले मुल्य घट्दा खासै फरक पर्दैन ।

तर, ब्यवसायिक मोडल फरक भएर, कमजोर भएर वा अन्य प्रतिस्पर्धीका सामु खरो उत्रिन नसकेर आफ्नो आधारभुत दृष्टिकोण सँग मेल नखाएको हो भने चाहीँ उचित कदम तुरुन्तै चाल्नुपर्छ ।


क्लिकमान्डु