रौतहटमा भोलीदेखि बृहत स्वास्थ्य शिविर हुने, १० जिल्लाका बासिन्दा लाभाम्बित हुने



काठमाडौं, ७ चैत । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटमा हुने एक हप्ते बृहत निःशुल्क स्वास्थ्य शिविरको तयारी पुरा भएको छ ।

रौतहटको जिल्ला अस्पताल र व्यारेक फिल्डमा भोली ८ गते देखि १४ गते सम्म हुने बृहत स्वास्थ्य शिविरका लागि विषेशज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु, मोवाईल हस्पीटल, औषधी र उपकरणहरु शिविरस्थलमा पुर्याई सकिएको छ ।

शिविरमा हाईड्रोसिल, हर्निया, पत्थरी, पायल्स, पाठेघर लगायतको शल्यक्रिया गर्नुका साथै अन्य रोगहरुको पनि परिक्षणको व्यवस्था गरिएको मन्त्रालयको अनुगमन महाशाखाका प्रमुख डा. दिपेन्द्ररमण सिंहले जानकारी दिए ।

धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिराह, सप्तरी, मकवानपुर, सिन्धुली लगायतका जिल्लाका बासिन्दालाई लक्षित गरी साताव्यापी शिविर आयोजना गरिएको उनले बताए ।

जनताकै घरदैलोमा विषेशज्ञ सेवा पुर्याउने उद्धेश्यले आयोजना गरिएको मोवाईल हस्पीटल सहितको सघन स्वास्थ्य शिविर अन्य क्षेत्रमा पनि आयोजना गर्ने तयारी भईरहेको स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।

सवै जिल्लामा शल्यक्रिया सहितको विषेशज्ञ सेवा पुग्न नसकिरहेका बेला यस्ता शिविर मार्फत् निःशुल्क स्वास्थ्य सेवा पाई स्थानीय बासिन्दा लाभान्वीत हुने उनले बताए ।

मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सैनिक अस्पतालमा आम नागरिकले पनि उपचार सेवा पाउनेगरी ओपीडि सेवा सुरु गराउने, विशिष्ट व्यक्तिहरुको उपचारलाई प्रभावकारी बनाउने लगायतका धेरै कामहरु यसअघि नै भईसकेका छन् ।


पुष्प दुलाल