त्रिशुली-गल्छी हाइड्रोले बनाउँदैछ नेपालकै लामो सुरुङ (हेर्नुहोस् इन्जिनियरिङ डिजाइन)



काठमाडौं । ७५ मेगावाट विद्युत उत्पादन क्षमताको त्रिशुली-गल्छी जलविद्युत आयोजनाले ८ किलोमिटर लामो सुरुङ निर्माण गर्ने भएको छ । आयोजनाले निर्माण गर्न लागेको यो सुरुङ नेपालकै सबैभन्दा लामो सुरुङ हुने कम्पनीको दाबी छ ।

आयोजनाले निर्माण गर्ने सुरुङ नुवाकोटको रात्माटे र बुद्धसिङदेखि धादिङको कल्लेरीसम्म ८ किलोमिटर लामो हुने सिद्धकाली हाइड्रोपावर कम्पनीकी कार्यकारी निर्देशक पुजा न्यौपानेले बताइन् ।

‘चैतमा बोलपत्र आह्वान गरी ठेकेदार नियुक्त गर्ने र बैशाख २ गतेदेखि पुर्वाधार निर्माणकार्य सुरु गर्छौं,’ न्यौपानेले भनिन् ।

आयोजनाको इन्जिरियरिङ रिपोर्ट भारतको बैंकलोरमा बनेको हो । केही हप्ताअघि मात्रै भारतीय कम्पनीले सिद्धकाली पावरलाई फाइनल डिजाइन दिएको हो ।

कूल ८ किलोमिटर लामो सुरुङमा ३८० मिटर फलामे पाइपबाट पानी लगिने छ । वाँधबाट आयोजनाको हेडसम्म सरुङबाटै पानी लगिने न्यौपानेले जानकारी दिइन् ।

लागत १४ अर्ब

शतप्रतिशत स्वदेशी लगानीमा निर्माण सम्पन्न गर्न लागिएको यो आयोजनाको कूल लागत १४ अर्ब ४ कोड रुपैयाँ हो । जसमध्ये ९ अर्ब ८० करोड बैंक ऋण र बाँकी ४ अर्ब २१ करोड रकम इक्वीटी हो । आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा ११ बैंकको सहवित्तियकरणमार्फत लगानी गर्ने सम्झौता भइसकेको छ ।

सो आयोजना सिद्धकाली पावर कम्पनीले निर्माण गर्ने हो । सिद्धकाली पावरमा अपि पावर कम्पनीको ८० प्रतिशत लगानी छ । यो आयोजनाले गत जेठ १२ गते विद्युत प्राधिकरणसँग पीपीए गरेको थियो ।

चार वर्षमा सम्पन्न गर्ने लक्ष्य

आयोजनाबाट उत्पादन हुने विद्युत सरकारले निर्माण गर्ने न्यू मस्र्याङदी–काठमाडौं २२० केभी ट्रान्समिसन लाईनमार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिने छ । न्यौपानेका अनुसार निर्माण सुरु गरेको ४ वर्षमा आयोजना सम्पन्न हुनेछ ।

किन भयो ढिलो ?

गत माघमा आयोजना निर्माण कार्य सुरु गर्ने लक्ष्य भए पनि विविध कारणले गर्दा पछि सार्नु परेको उनको भनाई छ ।

‘चैतमा बोलपत्र आह्वान गरी ठेकेदार नियुक्त गर्ने र बैशाख २ गतेदेखि स्थलगतरुपमा निर्माणकार्य सुरु गर्छौं,’ न्यौपानेले भनिन् ।

आइपिओमार्फत १५ प्रतिशत पुँजी उठाइने

आयोजनाले सर्वसाधारण लगानीकर्ताका लागि १५ प्रतिशत छुट्ट्याएको छ । त्यसबाहेक आयाजना प्रभावित स्थानीयका लागि १० प्रतिशत सेयर छुट्ट्याईएको न्यौपानले बताइन् ।
धमाधम जग्गा अधिकरण

कार्यकारी निर्देशक न्यौपानेका अनुसार आयोजना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिकरणको काम भइरहेको छ ।

आयोजनाको बाँध बाधिँने ठाउँमा प्रतिरोपनी ८ देखि १० लाख रुपैयाँमा जग्गा अधिकरण गरिएको हो । आयोजनाको स्थायी संरचना निर्माणका लागि ३ सय रोपनी र आयोजनाको सपोर्टका लागि ४ सय रोपनी गरी कूल ७ सय रोपनी जग्गा अधिकरण गर्नुपर्ने उनले बताइन् ।

इपीसी मोडल

कम्पनीले सो जलविद्युत आयोजनलाई इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्ट्रक्सन (इपीसी) मोडलमा बनाउने छ । जसका लागि चैत महिनाभित्रै ग्लोवल टेण्डर आब्हान गरिने भएको छ ।

तर, कम्पनीले गरेको ग्लोबल टेन्डरमा सहभागी हुनका लागि विदेशी ठेकेदारले नेपालमा दर्ता भएको हुनुपर्छ ।

आयोजना निर्माणका लागि भारत तथा चीनका ठेकेदारले चासो देखाएको उनको भनाई छ ।


पुष्प दुलाल