सर्बोच्चद्धारा चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय बदर




काठमाडौं । सर्बोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने सरकारी निर्णयलाई बदर गरेको छ ।

प्रधानन्यायधीश शुसीला कार्कीसहित न्यायधीशहरु हरिकृष्ण कार्की, इश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको पूर्ण इजलासले नियुक्तिको विवादको टुंगो लगाउँदै महानिरीक्षकमा बढुवा भएका जयबहादुर चन्दको नियुक्तिलाई बदर गरेको हो ।

सर्बोच्चले फैसला सुनाउँदै जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सरकारको निर्णय प्रहरी नियमावली २०७१ को नियम ४१ तथा स्थापित न्यायीक मान्यता प्रतिकुल दखिएकाले उक्त निर्णय र सो बमोजिम भएका काम कारबाही उत्प्रेषणको आदेशले बदर हुने ठहर्ने निर्णय गरेको छ ।

सरकारले अब प्रहरी नियमावली २०७१ को नियम ४१ समेतका प्रावधानहरूको समोचित परिपालना गरी न्यायका मान्य सिद्धान्त सुरक्षा निकायको नियन्त्रण कडी रिट निवेदकको वैध अपेक्षालगायतका कुरातर्फ न्योचित रूपमा दृष्टीगत गरी प्रहरीका बहालवाला प्रहरीमा नायव महानिरीक्षक मध्येका योग्यतम् तथा विगत ४ आर्थिक वर्षको कार्य सम्पादन मूल्यांकनमा प्रतिश्पर्धीहरू मध्ये औषत उच्चतम् अंक पाएको व्यक्तिलाई प्रहरी महानिरीक्षक पदमा तत्काल नियुक्त गर्नुपर्ने छ ।

जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने हल्ला चलेसँगै अधिवक्ता कपिलदेव ढकालले सर्बोच्चमा रिट दायर गरेका थिए । चन्दलाई प्रहरी प्रमुख बनाएपछि बरियताक्रममा पहिलो नम्बरमा रहेका नवराज सिलवालले पनि रिट दायर गरेका थिए । चन्दलाई प्रहरी प्रमुख बनाउने दिननै सर्बोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

त्यसपछि अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो । अन्तरिम आदेश दिने र अन्तरिम आदेशलाई निरन्तरता दिने न्यायधीशहरुकै बेन्चले प्रहरी प्रमुख नियुक्तीको मुद्दा हेर्ने भएपछि सरकारी पक्ष र चन्दको पक्षमा बहस गर्ने वकिलहरुले इजलास बहिष्कार गरेका थिए ।


क्लिकमान्डु