यी हुन् नेपालमा पाइने सबैभन्दा महंगा ब्राण्डेड जुत्ता




काठमाडौं । नेपालमा सबैभन्दा महंगो जुत्ताको मूल्य कति पर्छ होला ? कुन ब्राण्डको सबैभन्दा महंगो जुत्ता नेपालमा आउने गरेको होला ?

जानकारी वा प्रयोगको लागि यी र यस्तै प्रश्न मनमा खेलाएर बस्नु भएको छ भने केही हदसम्म जानकारी दिने प्रयास गरिएको छ । काठमाडौंका ‘सम्भ्रान्तहरुको सपिङ स्पट’को रुपमा चर्चित दरबारमार्गमा रहेका विश्व चर्चित केही ब्राण्डका जुत्ताको मूल्यका बारेमा स्थलगत रिपोर्ट तयार पारिएको छ ।

फुटवयरको लागि विश्व चर्चित ब्राण्डहरु रिबोक, एडिडास, नाइक र एन्टाको आधिकारिक सो रुपमा दरबारमार्गमा छ । स्थलगत रिपोर्ट तयार पार्ने क्रममा नाइकको जुत्ता सबैभन्दा महंगो रहेको पाइयो ।

नाइक सोरुममा नाइक एयरम्याक्स जुत्ताको मूल्य प्रतिजोर २५ हजार ९९० रुपैयाँ छ । यस्तै नाइककै अरु महंगा जुत्ताहरुमा नाइक भोमेरोको मूल्य १८ हजार ९९० रुपैयाँ, नाइक पेगाससको मूल्य १५ हजार ९९० रुपैयाँ रहेको सोरुमका कर्मचारी धिरजले जानकारी दिए ।

यस्तै नाइक स्ट्रक्चरको मूल्य १५ हजार ९९० रुपैयाँ छ । नाइक स्प्यानको मूल्य १३ हजार ९९० रुपैयाँ रहेको छ । नेपालमा नाइक ब्राण्डका जुत्ताहरु सिंगापूरबाट आउने गरेका छन् ।

दरबारमार्गमा पाइने दोस्रो महंगो ब्राण्डेड जुत्तामा एडिडास देखिएको छ । एडिडासको अल्ट्रबोस जुत्ता प्रतिजोर २२ हजार ५९० रुपैयाँ पर्ने सोरुमका कर्मचारीले जानकारी दिए । सो ब्राण्डको कालो, खैरो, निलो, परपल रङ्गहरुमा उपलब्ध छन् ।

एडिडासकै इनर्जी बुस्ट जुत्ताको मूल्य १९ हजार ६९० रुपैयाँ छ । यस्तै सुपर नोभा ग्लाइडको १७ हजार १९० रुपैयाँ, ट्युबलेर स्याडोको मूल्य १२ हजार २९० रुपैयाँ र अल्फा बाउन्सको १४ हजार ७९० रुपैयाँ मूल्य छ । नेपालमा एडिडास ब्राण्डका जुत्ताहरु दुबाइबाट आयात हुने गरेका छन् । एडिडासका जुत्ताहरु विभिन्न रंगहरुमा उपलब्ध छन् ।

नेपालमा पाइने अर्काे महंगो ब्राण्डको जुत्तामा रिबोक ब्राण्ड हो । रिबोकको जुत्ता प्रतिजोर १५ हजार ३९० रुपैयाँसम्म पर्ने गरेको ब्यापारीले जानकारी दिएका छन् ।

रिबोक सोरुममा अहिले रिबोक क्रसफिट जुत्ताको मूल्य प्रतिजोर १५ हजार ३९० रुपैयाँ पर्ने सोरुमका कर्मचारी अम्बिका श्रेष्ठले जानकारी दिइन । रिबोक क्रसफिटकै अर्काे जुत्ता भने १४ हजार ३९० रुपैयाँमा पाइने गरेको छ ।

सो रुममा कर्मचारीले दिएको जानकारी अनुसार रिबोक क्रसट्रेन स्प्रिन्टको मूल्य ९ हजार ७९० रुपैयाँ, रिबोक क्लासिकको मूल्य ११ हजार ९९९ रुपैयाँ छ । रिबोका जुत्ताहरु पनि विभिन्न रंगमा उपलब्ध छन् । रिबोकले सबै प्रकारका जुत्तामा १० प्रतिशतसम्मको छुटमा बिक्री गरिरहेको छ ।

एन्टा ब्राण्डको जुत्ता पनि नेपालमा महंगोमध्येमा पर्ने गरेको छ । सो ब्राण्डका जुत्ताको मूल्य अधिकतम १२ हजार ८०० रुपैयाँ रहेको सोरुमका कर्मचारी राज लामाले जानकारी दिए ।

एन्टा ब्राण्डको जेली सुजको मूल्य १२ हजार ८०० रुपैयाँ छ । यस्तै स्ट्राटाको मूल्य १० हजार ४५० रुपैयाँ छ ।

यस्ता महंगा जुत्ताको खरिदमा सामान्य उपभोक्तादेखि, फिल्म स्टार, खेलाडी, डाक्टर आदि सबैले प्रयोग गरेको बिक्रेताहरुले बताएका छन् ।


क्लिकमान्डु