बेँसीसहरमा नयाँ खानेपानी योजना, आगामी ३० वर्षलाई ढुक्क हुने दाबी



लमजुङ । सदरमुकाम बेँसीसहरमा पानीको अभाव हुन थालेपछि दीर्घकालीन सोचका साथ २८ रुपैयाँ करोडको लागतमा सहलगानी खानेपानी योजना सञ्चालन गरिने भएको छ ।

बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहलमा सो योजना सञ्चालन गर्न लागिएको हो । समितिले खानेपानी तथा सरसफाइ मन्त्रालय र ढल निकास विभागको सहकार्यमा सहलगानी खानेपानी योजना सुरु गर्न लागेको जनाएको छ ।

उक्त योजना सम्पन्न गर्नको लागि उपभोक्ताले श्रमदानसहित ३० प्रतिशत लगानी गर्ने समितिका अध्यक्ष कृष्णलाल प्रधानले बताए । खानेपानी योजनाको लागि प्राविधिक तयारी गरी मुहानको लागि जग्गा खरिद गरिसकिएको अध्यक्ष प्रधानले बताए।

खानेपानी योजना निर्माणको लागि नेपाल सरकारको सहलगानी सिद्धान्तअनुसार ३० प्रतिशत अनिवार्य लगानीमा १० प्रतिशत रकम नगद नै नेपाल सरकारको खातामा जम्मा गर्नुपर्ने हुन्छ । सहलगानीको लागि उपभोक्ताबाट रकम सङ्कलन गरिने अध्यक्ष प्रधानले बताए।

हाल बेँसीसहरमा विभिन्न आठवटा मूलबाट खानेपानी ल्याई वितरण गरिएको छ । सबै मूलको पानी जम्मा गर्दा प्रतिसेकेन्ड २८ लिटर पानी आउने गरेको अध्यक्ष प्रधानले जानकारी दिए । बेँसीसहरमा दैनिक २० लाख लिटर पानी आवश्यक पर्ने भन्दै आइरहेको पानी पर्याप्त नभएकाले विकल्प सोच्न बाध्य भएको उनको भनाइ छ ।

‘खानेपानीका धारामा नियमित पानी नआउँदा स्थानीय उपभोक्ताले पनि थप सास्ती बेहोर्नुपरेको छ,’ अध्यक्ष प्रधानले भने ‘अब समस्यासँगै दीर्घकालीन विकल्प सोचेर यो सहलगानी योजना सुरु गरेका हौँ ।’

सहलगानी खानेपानी योजना तीन वर्षमा सम्पन्न हुनेछ । योजना सम्पन्न भएपश्चात् थप २५ लिटर प्रतिसेकेन्ड पानी आउने उनको भनाइ छ । उनले यो योजना सम्पन्न भए आगामी ३० वर्षभन्दा बढी समयलाई ढुक्क हुने दाबी गरे ।

पछिल्लो समय पानीको अभाव हुन थालेपछि बेँसीसहरका उपभोक्ता वरपरका मूल तथा कुवाबाट खानेपानी ल्याउन बाध्य भएका छन् ।

बजारमा पानीको माग बढेको तर मुहान तथा पानीका स्रोत सुक्दै गएकाले अहिले मागअनुसार पानी वितरण गर्न नसकिएको अध्यक्ष प्रधानले बताए ।

 


क्लिकमान्डु