कमोडिटीज एक्सचेन्ज खोल्न ५० करोड पूँजी चाहिने



काठमाडौं । कमोडिटीज एक्सचेन्ज खोल्नको लागि न्यूनतम चुक्ता पूँजी ५० करोड चाहिने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसद्मा पेश गरेको वस्तु बजार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कमोडिटिज एक्सचेन्जको चुक्ता पुँजी न्यूनतम ५० करोडमा नघट्नेगरी नियामक निकाय धितोपत्र बोर्डले तोके बमोजिम हुने उल्लेख छ । विधेयकको दफा १० मा भनिएको छ,‘बस्तु बजार सञ्चालन गर्ने संस्थाको न्यूनतम चुक्ता पुँजी न्यूनतम ५० करोडमा नघट्नेगरी बोर्डले तोकिए बमोजिम हुने छ।’

नेपालमा कमोडिटीज एक्सचेन्ज संचालनमा आएको एक दशक पुगेपनि सरकारले बल्ल यसलाई कानूनी दायरामा ल्याउन लागेको हो । धितोपत्र बोर्डबाट कानून बनेर संसद् पुग्नको लागि बस्तु बजार सम्बन्धि विधेयकले चार वर्ष लागेको छ । विधेयकले कमोडिटीज बजारको नियामक निकायको रुपमा धितोपत्र बोर्डलाई तोकेको छ ।

धितोपत्र बोर्डले प्रस्ताव गरे अनुसार कै विधेयकमा एक्सचेन्जको चुक्ता पूँजी ५० करोड राखिएको छ । चार वर्ष अगाडिसम्म एक दर्जन जति कमोडिटिज एक्सचेन्ज संचालनमा रहेपनि नियमन नभएको कारण त्यसबाट ठगिने क्रम बढेपछि धेरै एक्सचेन्ज अहिले लगभग बन्द जस्तो अवस्थामा पुगेका छन् ।

एक/दुई एक्सचेन्ज संचालनमा रहेपनि कारोवार भने खासै छैन । विगतमा संचालनमा आएका र अहिले चलेका भनिएका कमोडिटिज एक्सचेन्जको चुक्ता पूँजी ज्यादै न्यून छ । अधिकाशं एक्सचेन्जको चुक्ता पूँजी १ करोड रुपैयाँभन्दा कम छ ।

विधेयकले कमोडिटिज एक्सचेन्जमा ५१ प्रतिशतसम्म विदेशी लगानी स्वीकार गरेको छ । ५१ प्रतिशत विदेशी लगानी र ४९ प्रतिशत नेपालीको लगानी भएमा कम्पनी खोल्न सकिने छ । कमोडिटिज एक्सचेन्जको लगानीमा क्रस होल्डिङ गर्न नपाइने कुरा उल्लेख छ । अर्थात एउटामा एक्सचेन्जमा लगानी रहेको व्यक्तिले अर्को एक्सचेन्ज खोल्न पाउँदैन ।

लगानीकर्ताको हित संरक्षणको लागि कोष खडा गर्नुपर्ने छ । यस्तो कोष कसरी संचालन गर्ने भन्ने कुरा धितोपत्र बोर्डले ऐन आएपछि तोक्ने छ

कमोडिटिज एक्सचेन्जको संचालक बन्नको लागि उमेरहद ३५ वर्ष तोकिएको छ । स्नातकोत्तर उत्तिर्ण र चाटर्ड एकाउन्टेन्स उत्तिर्ण भएको र सम्बन्धित क्षेत्रमा ५ वर्ष काम गरेपछि मात्र संचालकलाई योग्य मानिएको छ । सिइओ हकमा स्नात्कोत्तर तह उत्तिर्ण र सम्बन्धित विषयमा सात वर्ष काम गरेको हुनपर्ने छ ।

विधेयक पारित भएपछि कमोडिटिज एक्सचेन्ज संचालन गर्नको लागि धितोपत्र बोर्डबाट अनुमती लिनुपर्ने हुन्छ । एक्सचेन्ज स्थापनाको लागि बोर्डबाट अनुमती पाएको १ सय ८० दिनमा बोर्डले तोके बमोजिमको पूर्वाधार स्थापना गर्नुपर्ने हुन्छ । त्यो समयभित्र पूर्वाधार खडा नभए बोर्डले आवश्यक्ता अनुसार ९० दिनसम्म समय थप्न सक्ने छ ।

कमोडिटिज एक्सचेन्ज मार्फत कारोबार गर्न सकिने बस्तुमा बोर्डले सीमा तोक्ने सक्ने छ । कारोवार गर्दा सम्झौतालाई अनिवार्य गरिएको छ भने बस्तु कारोबारको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था तोकिएको छ ।

यसभन्दा अगाडि छुट्टै ल्याइने भनिएको वेयर हाउसलाई यही ऐनमा समिटएको छ । कमोडिटिज एक्सचेन्जले गोदाम गृह संचालन गर्न सकिने व्यवस्था गरिएको छ । तर,यसको लागि कति चुक्ता पूँजी भने ऐनमा तोएिको छैन । कमोडिटिज एक्सचेन्ज संचालन गर्न चाहिने ब्रोक्रर तथा राफसाफ कम्पनी चुक्ता पूँजी बोर्डले तोके बमोजिम हुने उल्लेख छ । यस्तै कमोडिटिज एक्सचेन्ज मार्फत लगानीकर्ता ठगिएमा यसको कारवाहीको व्यवस्थापनि ऐनले गरेको छ ।


क्लिकमान्डु