अनलाइन निर्देशिकाप्रति पत्रकार महासंघको आपत्ति



काठमाडौं । सरकारले हालै नेपाल राजपत्रमा प्रकाशित गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका– २०७३’ प्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा सरकारले नियन्त्रणमुखी निर्देशिका जारी गरेको भन्दै महासंघ कडा आपत्ति प्रकट गरेट गरेको हो ।

सरोकारवाला संस्थाको संलग्नतामा बनाइएको कार्यदलको सुझावलाई बेवास्ता गर्दै पुरानै निर्दे्िशकाको स्रोत र आधारभूमिमा टेकेर नयाँ निर्देशिका जारी गरिनुले सरकारको नियतमाथि समेत प्रश्न खडा गरेको महांसंघद्वारा बिहीबार जारी विञप्तीमा उल्लेख छ ।

‘सुशासन ऐनलाई टेकेर ल्याइएको यस निर्देशिकाले भर्खर फस्टाउँदै गरेको अनलाइन माध्यमको भूमिकालाई संकुचित गर्ने र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने भएकोले महासंघ यसलाई तत्काल फिर्ता लिन सरकारसँग माग गर्दछ,’ महासंघका महासचिव उजिर मगरले भने ।

महासंघले अनलाइनसम्बन्धी कुनै कानुनी प्रबन्ध गर्नुपर्दा प्रेससम्बन्धी विद्यमान संबैधानिक तथा कानुनी ब्यवस्था र अनलाइनमाध्यमको प्राविधिक पक्षलाई मनन गर्न एवं जनताको सार्वभौम थलो संसदमार्फत नयाँ कानुन निर्माणको प्रक्रिया अवलम्बन गर्न आग्रह गरेको छ ।

उक्त निर्देशिका तत्काल फिर्ता नलिए विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने महासंघले जनाएको छ ।

अनलाइ पत्रकार संघको गम्भीर आपत्ति

सरकारले राजपत्रमा प्रकाशित गरेको अनलाइन निर्देशिकाप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारी गरेको छ ।

सरकारले नै गठन गरेको सुझाव समितिको प्रतिवेदन विपरीत निर्दे्शिकाको संशोधित रूप सार्वजनिक भएकोमा संघले आश्चर्यमा प्रकट गरेको छ ।

प्रेस कानुनसँग कुनै सरोकार नभएको सुशासन (व्यवस्था तथा सञ्चालन) ऐन अन्तर्गत जारी निर्देशिकाले अभिव्यक्ति स्वन्त्रताको विश्वव्यापी मान्यता र संविधानले ग्यारेन्टी गरेको प्रेस स्वन्त्रता विपरित रहेको संघको ठहर छ ।

‘न्यायिक परीक्षणबिनै सञ्चार माध्यमको सञ्चालनमा अवरोध गर्न सकिने र प्रशासनिक निकायले सम्पादकीय र सूचना सम्प्रेषणको प्रकृयामा हस्तक्षेप गर्न सक्ने जस्ता प्रावधान कायमै राखि आएको निर्देशिकाले यस क्षेत्रको विकासलाई कुण्ठित गर्ने प्रस्ट छ’ संघका अध्यक्ष शिव सत्यालले भने ।

संघले उक्त निर्देशिका तत्काल खारेज गर्न सरकारसँग जोडदार माग गरेको छ । निर्देशिकाका नामा चोर बाटोबाट गरिएको नियन्त्रणमुखी कदमको विरोधमा साथ दिन सबैलाई आग्रह गरेको छ ।


पुष्प दुलाल