भारतमा उत्पादन बढ्दा सस्तियो तरकारी



बढी प्रयोग हुने चार तरकारीको मूल्य प्रति किलो रुपैयाँमा : स्रोत कालीमाटी तरकारी बजार केन्द्र

काठमाडौं । गतवर्ष प्रतिकिलो ४५ रुपैयाँ पर्ने आलु यो वर्ष २५ देखि ३० रुपैयाँसम्ममा पाइन्छ । आलु नेपालीको भान्छामा सबैभन्दा बढी प्रयोग हुने तरकारीमा पर्छ ।

यस्तै भान्छामा बढी हुनेमा प्याजपनि पर्छ । अघिल्लो वर्ष ४० रुपैयाँ पर्ने प्याजको मुल्य यो वर्ष ३५ रुपैयामा झरेको छ ।

भान्छामा प्रयोग हुने तरकारी अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ । हरेक महिना मूल्यबृद्धिको तथ्यांक निकाल्ने राष्ट्र बैंकका अनुसार यो वर्षको मुल्यबृद्धि ३.३ प्रतिशत छ । तरकारीको मूल्य अघिल्लो वर्षको भन्दा ५.८ प्रतिशतले घटेको देखिन्छ ।

तरकारीको भाउ माग र आपूर्तिले तय गर्ने भएपनि ब्यापारीले आफै पनि निर्धारण गर्ने गरेका छन् ।

गत बर्षको भन्दा यसबर्ष भारतबाट आयात हुने तरकारीको परिमाण बढेका कारण मूल्य कम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका योजना अधिकृत रमेश डंगोल बताउँछन् ।

यो बर्ष तरकारी भारतबाट तरकारी आयात बढेको छ । कालिमाटी तरकारी तथा फलफूल बिकास समितिका अनुसार यो बर्ष भारतबाट ८५० टन तरकारी आयात भएको छ । गत बर्षको सोही अवधिमा ६५० टन तरकारी आयात भएको थियो ।
राष्ट्र बैंकका अनुसार यो वर्ष माघ महिनासम्ममा भारतबाट ७ अर्ब १४ करोड रुपैयाँको तरकारी आयात भएको छ । अघिल्लो वर्ष माघ महिनासम्ममा ४ अर्ब २७ करोड रुपैयाँको तरकारी आयात भएको थियो ।

कालीमाटी बजारमा सर्लाही, धादिङ, बनेपा जस्ता स्थानहरुबाट आउने गरेको छ । यस्तै भारतबाट पनि बर्सेनि उल्लेख्य मात्रामा तरकारी आउने गरेको ब्यापारीहरुको भनाइ छ ।

तरकारी सस्तो हुँदा उपभोक्तालाई राहत भएपनि किसान भने खुसी छैनन् । नेपालका विभिन्न स्थानहरुमा उत्पादित तरकारी उपभोक्तासम्म पर्याउने सहज माध्यम नहुँदा उत्पादकलाई समस्या भएको छ । ब्यवस्थित र सहज सडकको पहुँच ग्रामीण क्षेत्रसम्म नहुँदा उत्पादित तरकारीले राम्रो भाउ पाउन नसक्ने र किसानको लगानी उठ्न मुस्किल हुने गुनासो किसानको छ ।

यो सिजनमा आलु, प्याज, गोलभेडा, काउली, बन्दा जस्ता तरकारी बढी मात्रामा भारतबाट आउने गरेको ब्यापारीहरुको भनाइ छ । तुलनात्मक रुपमा सस्तो मूल्यमा उपभोक्तासम्म पुग्ने भारतीय तरकारीले नेपाली किसानलाई भने समस्या पार्ने गरेको छ ।

सरकारी तथा र ब्यापारीले तरकारीको मूल्य सस्तो भएको दाबी गरेपनि उपभोक्ताको बुझाइ भिन्न रहेको छ । कालिमाटी तरकारी किन्न आएकी गृहणी राधा अधिकारी पसलैपिच्छे फरक फरक मूल्यमा तरकारी पाइने गरेकोले अन्योलमा रहेको बताउँछिन् ।

‘बजारको भाउ बुझिसक्नु छैन, पसलै पिच्छे भाउ फरक–फरक छ’,उनले भनिन्, ‘तर, पनि गत बर्षको भन्दा यो बर्ष तरकारी केही सस्तो भएको अनुभब भने महशुस भएको छ ।’

अधिकाशं तरकारी मूल्य अघिल्लो वर्षको भन्दा घटेपनि केही तरकारीको मूल्य भने अघिल्लो वर्षको तुलनामा बढेको छ । अघिल्लो वर्ष प्रतिकिलो १ सय १० रुपैयाँमा पाइने बोडीको मूल्य यो वर्ष १ सय १५ रुपैयाँ पुगेको छ । यस्तै अघिल्लो वर्ष प्रतिकिलो १ सय २५ रुपैयाँमा पाइने च्याउँको मुल्य यो पटक १ सय ३५ रुपैयाँ पुगेको छ । नेपालमा उत्पादन हुने भन्दा भारतबाट आउने तरकारीको भाउँ घटेको तरकारी व्यापारमा संलग्न व्यापारी बताउँछन् ।


क्लिकमान्डु