रेडक्रसले दियो आवास निर्माण गर्न दोस्रो किस्ताबापत ५ करोड ८३ लाख




काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका तीन सय ८९ घरधुरीलाई हालसम्म निजी आवास निर्माण गर्न दोस्रो किस्ताको बापतको रकम वितरण गरेको छ ।

दोस्रो किस्ताबापतको रु एक लाख ५० हजारका दरले हालसम्म रु पाँच करोड ८३ लाख वितरण गरेको सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमले जनाएको छ ।

विभिन्न देशका रेडक्रसका आर्थिक एवम् प्राविधिक सहयोगमा कार्यक्रमले ती जिल्लाका ६ हजार भन्दा बढी घरपरिवारलाई आवास निर्माणलगायत खानेपानी, सरसफाइ, जीविकोपार्जन, आयआर्यजन, प्राथमिक स्वास्थ्यलगायतका क्षेत्रमा प्राविधिक तथा आर्थिक सहयोग जारी राखेको छ ।

पुनःनिर्माण प्राधिकरणले दोस्रो किस्ता वितरणका लागि जारी निर्देशिका एवम् कार्यविधि अनुसार सोसाइटीले रकम प्राप्त गर्न योग्य रहेका भूकम्पप्रभावितलाई आवास निर्माण गर्न रकम उपलब्ध गराउने कार्य जारी राखेको छ ।

उक्त कार्यक्रमले ती जिल्लाका ६ हजार ३५० भन्दा बढी परिवारलाई पहिलो किस्ता रु ५० हजारका दरले रु ३१ करोड ८ लाख वितरण गरिसकेको जनाएको छ । प्राधिकरणको आवास अनुदान नीतिअनुसार कार्यक्रमले तीन लाख सहयोग गर्ने जनाएको छ ।

कार्यक्रमकाअनुसार नुवाकोट, रसुवा, रामेछाप, सिन्धुपाल्चोक, मकवानपुर, धादिङलगायतका जिल्लामा दोस्रो किस्ता रकम वितरण जारी छ । अमेरिकन रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा भूकम्पप्रतिकार्य कार्यक्रमले नुवाकोटको काउले र भाल्चे गाउँविकास समितिमा एक हजार ९५८ निजी आवास निर्माण गर्न सहयोग गर्दैछ ।

हालसम्म ती दुई गाविसमा अधिकांश अर्थात् एक हजार ९०५ले पहिलो किस्ता वापतको रकम प्राप्त गरिसकेका छन् । पहिलो किस्ता प्राप्त गर्नेमध्ये मापडण्ड पुगेकालाई दोस्रो किस्ताबापतको रकम वितरण गर्ने कार्य जारी रहेको कार्यक्रमले जनाएको छ ।
अर्कोतर्फ आवास निर्माण गर्न कार्यक्रमले १४ जिल्लाका स्थानीयवासीलाई कालीगढको तालिमसमेत दिने कार्य लगभग सम्पन्न गरिसकेको छ । कार्यक्रमले १४ वटै जिल्लामा हालसम्म चार हजार २०० भन्दा बढीलाई घर बनाउने सीप (कालिगढ) को तालिम प्रदान गरिसकेको जनाएको छ ।
नेपाल रेडक्रसले उपलब्ध गराएको कालिगढ तालिम लिएका नुवाकोट काउले गाविसका मैनसिंह तामाङले आफ्नो घर आफै बनाउँदै अरु धेरैलाई सहयोग गरेको बताए ।

रासस


क्लिकमान्डु