यसरी स्वच्छ र सुन्दर बनाइँदैछ बाग्मती नदी



काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यता तथा धार्मिक महत्व बोकेको बाग्मती नदी स्वच्छ र सुन्दर हुने भएको छ । उपत्यका बाग्मती नदी र यसका सहायक नदीहरुमा सहरका ढल सोझै मिसाइंदा नदी दुसित हुँदै आएको थियो ।

बाग्मतीमा मिसिने ढललाई मात्र रोकेर नदी सफा नहुने अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिका उप-आयोजना प्रमुख योगेन्द्र चित्रकार बताउँछन् ।

‘बाग्मती नदीका सहायक नदी उपत्यका भित्र ७ वटा छन् । ति नदीमा मिसिने ढललाई पनि रोक्न सकेमा बाग्मती नदी स्वच्छ र सुन्दर हुनेछ,’ त्रिचकारले क्लिकमाण्डूसँग भने ।

बाग्मतीलाई स्वच्छ र सुन्दर बनाउनका लागि बाग्मती, बिष्णुमती र धोबीखोलामा मिसिने ढललाई नदीमा मिसिन्न नदिने प्रक्रियामा समितिले काम गरिरहेको उनको भनाई छ ।

नदीमा मिसिने ढललाई रोक्न सुन्दरीजल-गोकर्ण खण्डको बाग्मती नदी २०४५ सालको नापीसँग मेल खाएको थिएन । सो खण्डको ८.५ किलोमिटर बहाव क्षेत्रलाई पुरानै नापीअनुसार धार परिवर्तन गरिसकिएको चित्रकारले जानकारी दिए ।

बाग्मती, धोबीखोल र बिष्णुमतीको उपत्यका भित्रको लम्बाई

बाग्मती -२८ किलोमिटर
बिष्णुमती -१७.३ किलोमिटर
धोवी खोला -१८.२ किलोमिटर
नदी नियन्त्रणमा भएका प्रगति

धोवी खोलमा दायाँ र बायाँ बार निर्माण गरेर खोला नियन्त्रण भईसकेको छ । बाग्मती नदीको कुल क्षेत्रको २२ किलोमिटर नदी नियन्त्रण सकिएको र विष्णुमतीमा ९ किलोमिटर नदी नियन्त्रण गरिएको चिकार बताउँछन् ।

ढल नियन्त्रणमा भएको प्रगति

त्रिचकारका अनुसार बाग्मती नदीमा मिसिने ढल विछ्याउने कार्य ९९ प्रतिशत सकिसकेको छ । धोवी खोला दोभानदेखि गोपीकृष्णसम्मको १२ किलोमिटर र विष्णुमती दोभानदेखि महादेव खोलको ६ किलोमिटरमा ढल विछ्याउने कार्य सम्पन भएको हो ।

कसरी गरिन्छ ढल व्यवस्थापन ?

सहरबाट निस्कने ढल कोरिडोर मार्फत बगाइने छ । कोरिडोरबाट आएको ढललाई प्रशोधन गरेर फेरी नदीमा बगाइने छ । हाल प्रसोधन केन्द्र गुहेश्वरीमा छ । हाल स्थापना भएको गुहेश्वरीको ढल प्रशोधन केन्द्रले एक दिनमा १ करोड ६४ लाख लिटर (१ सय ९० लिटर प्रति सेकेण्ड) ढल प्रशोधन गर्नेछ ।

प्रसोधन केन्द्र काहाँ कहाँ स्थापना हुन्छ ?

गुहेश्वरी (निर्माण भईसकेको)
सल्लाधारी
खोकना
कोड्कु
सुन्दरीघाट

यस्तो हुने छ बाग्मती नदीको वहाव क्षेत्र 

सुन्दरी जलदेखि गोकर्ण -२० मिटर
गोकर्णदेखि जोरपाटी पुल -३५ मिटर
जोरपाटी पुल देखि गुहेश्वरी -४० मिटर
गुहेश्वरीदेखि तिलगंगा -३० मिटर
तिलगंगादेखि शंखमुल -६० मिटर
शंखमुलदेखि सुन्दरीघाट -८० मिटर


पुष्प दुलाल