नेपालगञ्ज, बनेपा र बिर्तामोडमा पहिलोपटक सेयर किनबेच



काठमाडौं । आइतबारबाट बिभिन्न ब्रोकरहरुले काठमाण्डौं उपत्यका बाहिर आफ्नो सेवा बिस्तार गरेका छन् ।

धितोपत्र बोर्डले तयारी नपुगेकाले केही समय शाखा बिस्तार रोक्न निर्देशन दिए पनि नेप्सेको दबावका कारण ब्रोकरहरुले आइतबाट सेवा बिस्तार गरेका हुन् ।

नारायणघाट, बुटवल र बिराटनगरमा यसअघि नै केहि ब्रोकरले शाखा बिस्तार गरेका भए पनि नेपालगञ्ज, बनेपा र बिर्तामोडका जनताले भने पहिलोपटक आफ्नै सहरमा सेयर किनबेच गर्न पाएका हुन् ।

आइतबारबाट उपत्यका बाहिर सेवा दिन शुरु गर्ने ब्रोकरहरु कालिका सेक्युरिटिज (४६), क्रिष्टल कन्चनजंगा (५०), भिजन सेक्युरिटिज (३४), आर्यतारा सेक्युरिटिज (५७), श्रिहरि सेक्युरिटिज (५६) र सानी सेक्युरिटिज (४२) हुन् ।

यसमध्ये ब्रोकर नम्बर ४६ ले नेपालगञ्ज, ५० ले बिराटनगर, ३४ ले बनेपा, ५७ ले बुटवल, ५६ ले बिर्तामोड र ४२ ले नारायणगढबाट सेयर कारोबार सुरु गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्जको निर्देशन अनुसार काठमाडौं बाहिर शाखा स्थापना गरी सेयर कारोबार थालिएको कालिका सेक्यूरिटिजका प्रमुख नरेन्द्र सिँजापतिले क्लिकमाण्डूलाई जानकारी दिए ।

सेयर बजारलाई बिकसित एवं बिस्तारित बनाउने उद्देश्यले नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेले सुधारका कामहरु तीब्र पारेका छन् ।

यसैको पछिल्लो कडी स्वरुप नेप्सेले केहि समयअघि विभिन्न ब्रोकरहरुलाई उपत्यका बाहिर शाखा बिस्तार गर्ने अनुमति दिएको थियो ।

धितोपत्र बोर्डले शाखा बिस्तार केहि समय स्थगित गर्न निर्देशन दिए पनि नेप्सेले आइतबारबाट सेवा बिस्तार नगरे अनुमति रद्द गर्ने सूचना निकालेका कारण ब्रोकरहरुले उपत्यका बाहिर सेवा सुरु गरेका हुन् ।

नारायणघाट, बुटवल र बिराटनगरमा यसअघि नै केहि ब्रोकरले शाखा बिस्तार गरेका भए पनि नेपालगञ्ज, बनेपा र बिर्तामोडका जनताले भने पहिलोपटक आफ्नै सहरमा सेयर किनबेच गर्न पाएका हुन् ।


पुष्प दुलाल