चीनको ओबिओर आयोजनाबाट नेपाल लाभान्वित हुन चाहन्छ: परराष्ट्रमन्त्री डा महत



काठमाडौं । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चीनको ओबिओर (वान बेल्ट वान रोड) आयोजनाबाट नेपाल बढीभन्दा बढी लाभान्वित हुन चाहेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा हाल त्यहाँ रहेका परराष्ट्रमन्त्री डा महतले चीनको बेइजिङस्थित बेइजिङ फरेन इस्टडी युनिभर्सिटीद्वारा आज आयोजित कार्यक्रममा सो धारणा राखेका हुन् ।

‘नेपाल एक भूपरिवेष्टित देश हो र चीनको यो बृहत् आयोजनाले नेपालजस्तो छिमेकीलाई चीन हुँदै अर्को संसारमा जोड्न र हाम्रो उत्पादनको निर्यातमा समेत सघाउने हुँदा यसबाट हामी लाभान्वित हुन चाहन्छौ,’ उनले भने, ‘छिमेकी देश चीनले थालेको यो बृहत् सञ्जालका माध्यमबाट हामी पनि नेपाली उत्पादनलाई एसिया र युरोपेली बजारमा पु¥याउनका साथै हाम्रो देशको बहुआयामिकतालाई विश्वमा परिचित गराउन चाहन्छौ ।’

उनले सडक सञ्जालको माध्यमबाट नेपाललाई पनि चीन तथा अन्य विश्वसँग जोड्न सकेमा विकासका प्रचुर सम्भावना भएको नेपालका लागि ठूलो सौभाग्य हुने र चीनलाई नेपालको पूर्वाधार विकासका क्षेत्रमा सघाउन आग्रह गरे ।

‘नेपाल गरिब होइन र भूगोलमा सानो पनि छैन, हामीसँग विकासका प्रचुर सम्भावना छन् तर पनि पूर्वाधार क्षेत्रमा आवश्यक विकास हुन नसक्दा हाम्रो ठूलो श्रमशक्ति बाहिरिएको छ र वैदेशिक लगानी पनि अपेक्षित आउन सकिरहेको छैन,’ उनले भने ‘नेपालमा पूर्वाधार निर्माणका साथै पर्यटन, जलविद्युत्लगायतका क्षेत्रमा लगानीका लागि हामी चीन सरकारसँग आग्रह गर्दछौ । ‘

एक असल छिमेकीको हैसियतले चीनले नेपालको बृहत्तर विकासमा पु¥याउँदै आएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्दै उहाँले सदियौँअघिदेखि जनताको तहबाट सुरु भएको नेपाल–चीन सम्बन्ध हाल पनि सुमधुर रहेको र नेपाल एक चीन नीतिप्रति अडिग रहिआएको प्रतिबद्धता व्यक्त गरे ।

सो सेन्टरमा विभिन्न वक्ताले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा चर्चा गरेका थिए । रासस


क्लिकमान्डु