दलाल गाउँ छिरेकै दिन सेयर बजारमा उछाल



काठमाडौं । सेयर दलालहरुले काठमाडौं बाहिरबाट कारोबार सुरु गरेकै दिन नेप्सेमा बहार आएको छ । आजदेखि सेयर दलालहरु काठमाडौं उपत्यका बाहिरका ६ शहरबाट सेयर किनबेच सेवा सुरु गरेका थिए । त्यसको प्रभाव नेप्से सूचकमा देखिएको हो ।

आइतबार एकैदिन नेप्से सूचक ४७.७९ अंकले बढेको छ । ब्रोकरहरुले काठमाडौं बाहिरबाट कारोबार सुरु गरेपछि लगानीकर्ताहरु उत्साहित हुँदा बजार बढेको हुनसक्ने सेयर दलाल संघका निवर्तमान अध्यक्ष नरेन्द्र सिँजापतिले बताए ।

‘आइतबार यति ठूलो अंकले नेप्से बढ्नुपर्ने अरु कुनै कारण देखिँदैन,’ सिँजापतिले क्लिकमाण्डूसँग भने, –‘ब्रोकरहरुले काठमाडौं बाहिरबाट सेवा सुरु गरेपछि बजारमा त्यसको प्रभाब परेको हो ।

नेपाल स्टक एक्सचेञ्जको निर्देशनमा ब्रोकरहरुले आइतबार काठमाडौं बाहिरबाट सेवा सुरु गरेका हुन् ।

कालिका सेक्युरिटिजले नेपालगञ्ज, क्रिष्टल कन्चनजंगाले बिराटनगर, भिजन सेक्युरिटिजले बनेपा, आर्यतारा सेक्युरिटिजले बुटवल, श्रिहरी सेक्युरिटिज बिर्तामोड र सानी सेक्युरिटिजले नारायणगढबाट सेयर कारोबार सुरु गरेका हुन् ।

आइतबार नेप्सेमा १ सय ४३ कम्पनीको ३६ लाख ५७ हजार १ सय २२ कित्ता सेयर कारोबार भएको छ । यो दिन सबै उप–सूचकहरुमा हरियाली छाएको छ ।

बैकिङ ४४.४१, होटेल ९६.४५, बिकास बैंक ६०.९७, जलबिद्युत १५९.४०, बित्त २४.७०, बिमा २०३.३७ र अन्य ६.६५ अंकले बढेको छ ।

सबैभन्दा बढी प्रभु इन्स्योरेन्सको प्रमोटर सेयरको १९ करोड २८ लाख रुपैंयाँको कारोबार भएको छ । दोस्रोमा एनसिसि बैंकको ९ करोड ७३ लाख रुपैंयाँको कारोबार भएको छ ।

एनसिसिले हालसालै अघिल्लो बर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र राष्ट्र बैंकले तोकेबमोजिब ८ अर्ब पूँजी प्¥याउन नपुग रकम हकप्रद जारी गर्ने बताएको थियो ।

बैंकले ५० प्रतिशत हकप्रद जारी गर्ने संभावना छ । तेस्रोमा नेशनल हाइड्रोको ८ करोड ६७ लाख रुपैंयाँको कारोबार भएको छ । चौंथो र पाँचौमा क्रमश सानिमा बैंक र नेपाल बंगलादेश बैंक रहेका छन् । उनीहरुको ६ करोड ३६ लाख र ५ करोड ८३ लाख रुपैंयाँको कारोबार भएको छ ।

आइतबार १८ कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेको छ । हाम्रो बिकास बैंक, लक्ष्मी लघुबित्त, जनउत्थान लघुबित्त, कृषि बिकास बैंक लगायत कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

आइतबार तीन कम्पनीका लगानीकर्ताले मात्र गुमाएका छन् । सप्तकोशी बिकास बैंक, साहारा बिकास बैंक र प्रभु इन्स्योरेन्सको प्रमोटर सेयरका लगानीकर्ताले मात्र गुमाएका छन् । उनीहरुले क्रमश ३.६०, १.९८ र १.९५ अंकले गुमाएका छन् ।


पुष्प दुलाल