प्रतिवेदन बुझाउने समय सकिँदा पनि छलफलको विषय खोज्दै संसदीय उपसमिति



काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिको गत फागुन १७ गतेको बैठकले बैंकिङ क्षेत्रका समस्या समाधान गर्न भन्दै उपसमिति गठन गरेको थियो ।

सो उपसमितिलाई १५ दिनभित्र बैंकिङ क्षेत्रमा समस्या पहिचान गरी त्यसका समाधानका उपायसहित उल्लेख गरी अर्थ समितिमा प्रतिवेदन पेश गर्न भनिएको थियो ।

उपसमिति गठन भएको एक महिना पुग्न ४ दिन मात्रै बाँकी छ । तर, उपसमिति भने अझै विषय-वस्तु खोज्दै भौतारिरहेकोछ ।

‘हामीले ठोसरुपमा छलफल थालेकै छैनौं, त्यसैले प्रतिवेदन कहिले तयार हुन्छ र कहिले बुझाइन्छ भन्ने कुरा अहिले नै भन्न सक्ने अवस्था छैन,’ कुईंकेलले भने ।

१५ दिनमा प्रतिबेदन बुझाउने टीओहार थियो ? प्रतिबेदन तयार भयो त ? भन्ने क्लिकमाण्डूको प्रश्नमा उपसमितिका सदस्य दिपक कुइँकेलले भने -‘छलफलका लागि विषयवस्तुको पहिचान गरिरहका छौं ।’

उपसमिति गठन भएको हप्ता दिनपछि बैठक बसेर सीपी मैनालीलाई संयोजक तोकेको र चैत पहिलो साता बैठक बसेर कार्यविधि बनाएको कुइँकेलले जानकारी दिए ।

‘उपसमिति गठन भएको करिब महिना दिन भयो, २ पटक बैठक बस्यौं,’ उनले भने, -‘पहिलो बैठकले संयोजक तोक्यो, दोस्रो बैठकले कार्यविधि बनायो ।’

महिना दिन अघिसम्म बैंकि क्षेत्र लगानी योग्य रकम (तरलता) अभावको चरम मारमा थियो । के कारणले तरलता अभाव भयो र कसरी यसको अल्पकालीन तथा दीर्घकालीन समाधान गर्ने भन्ने विषयलाई केन्द्रित गर्दै अर्थ समितिले उपसमिति गठन गरेको हो ।

अहिले बैंकिङ क्षेत्रमा तरलता सहज भइसकेको छ । तर, अझैपनि उपसमितिले आफ्नो प्रतिवेदन तयार पार्न सकेको छैन ।

सीपी मैनाली संयोजक रहेको उपसमितिमा सांसदहरु दिपक कुईंकेल, ल्यारक्याल लामा, गोपाल दहित, ओमदेवी मल्ल र रेवतीरमण भण्डारी छन् । जसमध्ये लामा बैंक लकरभित्र बन्दुक र गोली राखेको भेटिएपछि ठूलो बिबादमा तानिएका थिए ।

यो पनि पढ्नुहोस् –बैंक लकरमा बन्दुक राख्ने ल्यारक्याललाई बैंकिङ क्षेत्रको समस्या समाधान गर्ने जिम्मा 

सांसद कुईंकेलका अनुसार उपसमितिले छलफल गर्ने केही विषयहरु भने पहिचान गरिसकेको छ । तरलता, बैंकिङ पहुँच, व्यवस्थापक र सरकारको नीतिका कारण देखा परेका समस्या, सञ्चालन विधिका कारण आइपरेका समस्यालगायतका विषयमा छलफल गरिने छ ।

‘हामीले ठोसरुपमा छलफल थालेकै छैनौं, त्यसैले प्रतिवेदन कहिले तयार हुन्छ र कहिले बुझाइन्छ भन्ने कुरा अहिले नै भन्न सक्ने अवस्था छैन,’ कुईंकेलले भने ।


पुष्प दुलाल