१० अर्बको लगानीमा सम्पन्न गर्ने लक्ष्यसहित काबेली ए जलविद्युत आयोजना निर्माण सुरु



ताप्लेजुङ। आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ ।
सन् २०२० मा सम्पन्न गर्ने लक्ष्यका साथ ताप्लेजुङ र पाँचथर जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण हुने आयोजनाको गत शुक्रबार शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो ।
एक सय मिलियन अर्थात् रु १० अर्बको लगानीमा निर्माण हुने यो आयोजना पूर्वकै ठूलो र बहुप्रतिक्षित मानिएको छ । आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीको ५६ प्रतिशत र सिङ्गापुरको इन्फ्राको कम्पनीको ४४ प्रतिशत लगानी रहेको छ ।

सन् २०१२ मा इन्फ्राको एसिया र यसको स्थानीय साझेदार बुटवल पावर कम्पनीले नेपालमा जलविद्युत् आयोजना निर्माण गर्न संयुक्त उद्यम कम्पनीको स्थापना गरेका थिए जसले पहिलो आयोजनाको रुपमा काबेली ए जलविद्युत् आयोजना निर्माण गर्न लागेका हुन् ।

इन्फ्राको एसियाले आफ्नो दक्षता, लगानी र अन्तर्राष्ट्रिय पुँजीमा पहुँच पुयाई स्थानीय निजी क्षेत्रलाई सहयोग गर्दै आएको छ ।
आयोजनामा विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (क्यानेडियन जलवायु परिवर्तन कार्यक्रम), नेपाल जलविद्युत् लगानी तथा विकास कम्पनी र एनआइसी एसिया बैंकको ऋण सहयोग रहेको जनाइएको छ । झिझ्याङ र टिडब्लुसिडब्लु नामक दुईवटा चिनियाँ कम्पनीले आयोजना निर्माणको जिम्मा पाएका छन् ।
आयोजनाको शुक्रबार स्थानीय वृद्ध दुर्गा भण्डारीले शिलान्यास गर्नुभएको थियो । सो कार्यक्रममा काबेली इनर्जी प्रालिका अध्यक्ष प्रदीपकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आयोजनाको काम अघि बढ्ने भएकाले निर्माण कार्यले गति लिने बताएका थिए। यता आयोजना सम्पन्न गर्न ठूलो चासो देखाएकामा स्थानीय बासिन्दाबाट प्रभावित आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले उनीहरुबाट निरन्तर सहयोग हुने आशा व्यक्त गरे।
पाँचथर अमरपुरको वडा नं २ र ५ को खोलाखर्कमा पोखरी निर्माण गरी साढे चार किमी सुरुङमार्गसहित पिनासी घाटमा विद्युत् गृह निर्माण गरिनेछ ।
पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङ्खोल्याङ आयोजनाबाट प्रभावित क्षेत्रमा पर्छन् । आयोजनाको निर्माण कार्य सन् २०२० को अप्रिलमा सम्पन्न हुने बताइएको छ ।


पुष्प दुलाल