कुरियर सेवामा भ्याट हटाउन माग



काठमाडौं । कुरियर व्यवसायीले कुरियर सेवा प्रवाहका क्रममा सरकारका विभिन्न निकायहरुबाट नीतिगत र गैरनीतिग अवरोध हुने गरेको भन्दै व्यवसायीहरुले सहजीकरणको माग गरेका छन् ।

कुरियर सेवालाई सरकारले उद्योगको मान्यता दिइसकेको भएपनि विभिन्न सरकारी निकायले नयाँ नयाँ नियमहरु परिमार्जन गरी कुरियर तथा कार्गो ढुवानी गर्ने सवारीलाई ट्राफिक प्रहरीले दुख दिने बताएका छन् । कुरियरका लागि छुट्टै भन्सार नियमावली नहुँदा कार्गो वा सो सरह चिठीपत्र भन्सारबाट छुटाउन समस्या हुने गरेको भन्दै छुटटै नियमावली बनाउन तथा मूल्य अभिबृद्धिकर(भ्याट) हटाउन माग गरेका छन् ।

शनिबार राजधानीमा आयोजित नेपाल कुरियर सेवा संघको २२ औं वार्षिक साधारणसभामा संघका अध्यक्ष रामेश्वर सिवाले हवाइ सेवा कम्पनीले समेत कार्यक्षेत्रभन्दा वाहिर गइ चिठीपत्र तथा पार्सल बुक गरी डेलिभरीसमेत गर्न थालेको भन्दै उक्त कार्यलाई तत्काल रोकिनुपर्ने बताए ।

त्यस्तै हवाइ सेवा कम्पनीहरुलाई दिएको सुविधा जस्तै त्रिभुवन विमानस्थलमा कुरियर सेवालाई पनि सामान ल्याउन र लैजान एक्सरे मेसिनलगायतका पूर्वाधारसहित छुटटै काउन्टरको व्यवस्था हुनुपर्ने पनि उनले माग गरेका छन् ।

संघले राजश्व तथा प्रहरी प्रशासनबाट जहाँ पायो, त्यहीँ चेकजाँच गर्ने बहानामा सामान खोलिदिने, च्यातिदिने र काटिदिनेलगायत अनावश्यक दुख दिने गरेको भन्दै कुरियर सेवालाई यस्ता समस्यामुक्त राख्नका लागि थानकोट, पथलैयालगायतका चेकिङ नाकामा प्रहरीलाई अग्रिम जानकारी गराइ सहजीकरणको व्यवस्था गरिनुपर्नेलगायत आधा दर्जन माग अघि सारेको छ ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले उद्योग व्यवसायको विकास र विस्तारमा कुरियर व्यवसायले महत्वपूर्ण भूमिका खेल्दै आएको भएपनि राज्यबाट उपेक्षित रहेको बताए ।


पुष्प दुलाल