प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच भेटवार्ता, चीनले निर्वाचनका लागि नौ मिलियन युयान सहयोग गर्ने




काठमाडौं । चीन भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् ।

बोओओ फोरमको बैठकमा भाग लिन चीन गएका प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सीलाई आज भेटेका हुन् ।

भेटमा द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दी पिपुलमा आज भएको भेटवार्ता महत्वपूर्ण तथा उपलब्धिमूलक रहेको प्रधानमन्त्रीले बताए ।

उक्त भेटमा चीनका राष्ट्रपति जिनफिङले आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि नौ मिलियन युयान सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले विसं २०७२ को गोरखा भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालन गर्न र नेपालसँग रेल्वे विकास गर्ने विषयमा चीनको सहयोग आवश्यक भएको बताएका थिए ।

नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उनले चिनियाँ रेल ल्हासाबाट काठमाडौँ हुँदै लुम्बिनी पुगेको हेर्न आफू र नेपाली जनताले चाहेको बताए।

करिब ३५ मिनेट भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले उठाएका सबै विषयमा राष्ट्रपतिबाट सकारात्मक जवाफ दिएको बताइएको छ। चीनका राष्ट्रपति जिनफिङले चीनको रेल सञ्जाल नेपालसँग जोड्ने र नेपालमा रेलको विकासमा आफैँले सक्रियता लिने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाल–चीनको तातोपानी नाका सञ्चालन तथा अन्य नाका सञ्चालन गर्न आफू र आफ्नो सरकार गम्भीर रहेको र त्यस विषयमा यथाशक्य चाँडो लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै चीनका राष्ट्रपति जिनफिङले दुई देशबीचका अन्य सम्भावित नाका सञ्चालन गर्ने विषयमा सकारात्मक जवाफ दिए।

सो अवसरमा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति जिनफिङलाई नेपाल भ्रमणको निम्तो दिए। जवाफमा चीनका राष्ट्रपति जिनफिङले चाँडै नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरे ।


क्लिकमान्डु