अब बढीमा १६ मात्र मन्त्रालय हुने, अनावश्यक मन्त्रालय फुटाउन नपाइने




काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले केन्द्रमा बढीमा १६ मन्त्रालय रहने प्रारम्भिक मस्र्यौदा प्रतिवेदन तयार पारेको छ ।

सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा गठित केन्द्र, प्रदेश र स्थानीय तहको प्रशासनिक सङ्गठनात्मक, संरचना र संस्थागत व्यवस्थापन समितिलाई सहयोग गर्न गठित उपसमितिले केन्द्रमा बढीमा १२ देखि १६ को सङ्ख्यामा मन्त्रालयमा बनाउने मस्यौदा प्रतिवेदन तयार पारेको समितिका सदस्य नन्दराज ज्ञवालीले जानकारी दिए ।

‘‘प्रारम्भिक छलफलमा हामीले बढीमा १६ मन्त्रालय बनाउन समितिलाई सिफारिस गर्ने तयारीमा रहेका छौ’’उनले भने ‘एकरुपता र समकालीन काम भएका मन्त्रालयलाई एउटै बनाउन थालिएको छ ।’

मन्त्रालयका सहायक प्रवक्ता समेत रहनुभएका ज्ञवालीले मन्त्रालयको सङ्ख्या कति रहने टुङ्गो लागेपछि मात्र यसको नामकरण गर्ने जानकारी गराउनुभयो ।

सङ्घीय संरचनमा केन्द्रीय सरकारको ७७४ काम हुने व्यवस्था गरिएको छ । सरकारले फागुन १९ गते मन्त्रालयका सचिव सापकोटाको संयोजकत्वमा मन्त्रालय केन्द्र, प्रदेश र स्थानीय तहमा कति सङ्ख्यामा रहनेछन् भनेर प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो ।

मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले समितिले केन्द्रमा रहने मन्त्रालयको सङ्ख्या एकिन गरेपछि प्रदेशमा रहने मन्त्रालयको सङ्ख्या निर्धारण गर्ने  जानकारी दिए ।

उपसमितिले तयार पारेको मस्यौदालाई अध्ययन गरेर समितिले सरकारलाई प्रतिवेदन बुझाउने उहाँले जानकारी गराउनुभयो । अहिले ३१ वटा मन्त्रालय रहेका छन् । रासस


क्लिकमान्डु