चेम्बरको टोली र फिनल्याण्डको प्रतिनिधिमण्डलबीच भेट



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत प्रतिष्ठित उद्योगी व्यवसायीहरुसंग चेम्बर भवन कान्तिपथमा फिनल्यान्डका राजदूत जोरमा सुभान्तोसँगै आएको प्रतिनिधिमण्डलसँग ‘फिनल्यान्डसंग व्यापार’ विषयक सेमिनारको आयोजना गरेको छ ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वागत गर्नु हुँदै नेपालको भौतिक निर्माण, पर्यटन, कृषि, जलबिद्युत् क्षेत्रमा फिनल्यान्डका उद्योगी व्यवसायीहरुले लगानी गरेर फाइदा उठाउन सक्ने भएकाले लगानी गर्न आग्रह गरे ।

कार्यक्रममा फिनल्याण्डका राजदूत सुभान्तोले उपस्थित उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्दै फिनल्यान्डका विभिन्न कम्पनीहरुको बारेमा जानकारी गराउँदै फिनल्यान्डमा रहेको प्रविधि, पूँजी र आयात तथा निर्यातलगायत ऐन कानुनहरुको बारेमा नेपाली उद्यमी व्यवसायीहरुलाई जानकारी दिए ।

सोही अवसरमा राजदूत सुभान्तोले नेपाल र फिनल्यान्डबीच व्यापार प्रवद्र्धनको प्रचुर सम्भावना रहेको, साथै नेपाल र फिनल्यान्डबीचको विद्यमान सम्बन्धलाई विविधिकरण गर्नुपर्ने बताउनु हुँदै दुई देशलाई विकास साझेदारीका साथै व्यापार सम्बन्धको माध्यमबाट सम्बन्ध सुदृढ गरिनुपर्ने बताए ।


क्लिकमान्डु