चितवनमा तीनसय ७७ हेक्टरमा लगाइएको बालीको बीमा




चितवन । जिल्लामा ३७७ दशमलव १३ हेक्टर क्षेत्रफलमा लगाइएको बालीको बीमा गरिएको छ ।

केरा, माछा र तरकारी बालीको बिमा गरिएको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाले जानकारी दिए । जिल्लामा एक हजार ६२५ हेक्टरमा केरा, छ हजार ५७९ हेक्टरमा तरकारी र ५३९ हेक्टरमा माछापालन गरिँदै आएको छ ।

चालु आवमा २१० कृषकले बीमा गराएका छन् । बीमा गर्नेमा २०६ केरा व्यवसायी, तीन जना माछापालन व्यवसायी र एक जना तरकारी व्यवसायी रहेका छन् । आव २०७२÷७३ मा २०६ कृषकले बाली बीमा गराएका थिए । बिमा गराउँदा लागत मूल्यको ७५ प्रतिशत सरकारले बेहोर्ने गरेको छ भने २५ प्रतिशत कृषकले बेहोर्नु पर्ने कानुनी प्रावधान छ ।

बाली लगाई सके पछि कुनै कारणले हानी हुन पुगेमा बालीको प्रकृति हेरी लागत मूल्यको ९० प्रतिशतसम्म बीमा कम्पनीले बेहोर्ने गरेको थापाले बताए । माछामा वर्षात्को समयमा खोला पसेर माछा बगाउने तथा तरकारीलाई असिना पानीले प्रभाव पार्ने गरेको छ । रासस


क्लिकमान्डु