अनुदानसँगै चैतेधान खेतीतर्फ आकर्षित, ७५ हेक्टरमा धानखेती गरिने



रुपन्देही । सरकारले सुरु गरेको ‘बृहत्तर धान उत्पादन कार्यक्रम’अन्तर्गत रुपन्देहीमा किसान चैते धानखेतीतर्फ आकर्षित भएका छन् ।

सरकारले रुपन्देहीसहित १३ वटा जिल्लामा उक्त कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत थप पाँच हेक्टर क्षेत्रफलमा धानखेती गर्ने किसानलाई पाँच हजार रुपैयाँ अनुदान दिने गर्दछ । यसको साथै जिल्ला कृषि विकास कार्यालयले यान्त्रीकरण,सिँचाइमा समेत किसानलाई अनुदान दिने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष जिल्लामा पहिलोपटक ४५ बिगाहा क्षेत्रफलमा चैते धानखेती लगाइएको थियो । प्रतिहेक्टर चार मेट्रिक टन धान उत्पादन भएपछि किसान यस वर्ष उत्साहित भएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाकाअनुसार यस वर्ष जिल्लामा ७५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिनेछ । सोहीअनुसार किसानसँग सम्झौता भई आवश्यक प्रक्रियासमेत अगाडि बढेको  छ । बर्खे धानखेतीभन्दा चैतेधान उत्पादन बढी हुने भएकाले कार्यालयले ‘आयात प्रतिस्थानपन’का लागि सो अवधारणा अगाडि बढाएको सापकोटाको भनाइ छ ।

गत वर्ष प्रतिहेक्टर चार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष प्रतिहेक्टर पाँच मेट्रिक टन उत्पादन गर्ने कार्यालयको लक्ष्य छ । झापा, मोरङ, सुनसरी, सर्लाही, पर्सा, बारा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा ‘बृहत्तर धान उत्पादन कार्यक्रम’ लागू गरिएको छ ।

जिल्लामा ६९ हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन छ । करिब १० हेक्टर क्षेत्रफलमा मात्र बाह्रै महिना सिँचाइ सुविधा छ । कार्यालयले किसानलाई हर्दिनाथ–१ र चैते–२ उन्नत जातको बीउ वितरण गरेको छ ।

 


क्लिकमान्डु