चुनाव अघि भक्तपुरमा साझा नगुड्ने




काठमाडौं । आगामी बैशाखा ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचन अघि भक्तपुरमा साझाका बस गुढ्न नपाउने भएका छन् ।

यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालय बाग्मतीका प्रमुख बसन्त अधिकारीले चुनाव अघि भक्तपुरका लागि साझाको रुट इजाजत टुङ्गो नलाग्ने जानकारी दिए ।

‘चुनावका लागि म रोल्पा जादैछु, अब चुनाव सकिएपछि मात्रै साझाको रुट इजाजतको टुङ्गो लाग्छ,’ अधिकारीले क्लिमाण्डूसँग भने ।

साझाले भक्तपुरमा बस सेवा विस्तार गर्नका लागि फागुन ३० गते विभागमा निवेदन दिइसकेको छ ।

साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले आफूहरुले बस सेवा संचालन गर्न नपाइनुको कारण थाहा नभएको बताए । ‘सिन्डिकेट अन्त्य भइसकेको अवस्थामा पनि साझालाई भक्तपुरमा रुट इजाजत दिन आलटाल गरेको कारण मैले बुभ्mन नसकेको छैन,’ पाण्डेले भने ।

साझालाई रुट इजाजत नदिनुको कारण
भक्तपुरका यातायात व्यवसायीले साझा भक्तपुर प्रवेश गरेमा अवरोध गर्ने बताउँदै आएका छन् । यातायात व्यवसायीले चैत ७ गते पत्रकार सम्मेलन गरेर साझा यातायात भक्तपुर प्रवेश गरेमा ग्रामीण भेगका यातायात ठप्प पार्ने चेतावनी दिएका थिए ।

यातायात विभागले व्यवसायीहरुलाई सहमतिमा ल्याएर मात्रै साझालाई अनुमति दिने रणनीति बनाएको बताउँदै आएको छ । विभागले सहमतिका लागि २८ गते बैठक बस्ने बताएको थियो । तर, आउँदै गरेको स्थानीय निकायको चुनावका लागि विभागका प्रमुख बसन्त अधिकारी उपत्यका बाहिर जानु परेकाले बैठक बस्न सकेन ।

१५ हजार स्थानीयको हस्ताक्षरसहित ज्ञापन
गाडीका लागि लामो समय कुर्नुपर्ने र गाडी समयमा आएपनि भिडभाडमा यात्रा गर्नु पर्ने भक्तपुरका स्थानीय बताउँछन् । भक्तपुरमा साझा गुड्नु पर्छ भन्दै यर्थाशिघ्र साझा गुड्नु पर्छ भन्ने स्थानीयको माग छ । उपभोक्ता हित संरक्षण मञ्च भक्तपुरले त्यसका लागि चैत २७ गते १५ हजारको हस्ताक्षरसहितको ज्ञापन पत्र विभाग महानिर्देशक रुपचन्द्र भट्टराईलाई बुझाएको छ ।

भक्तपुरमा कसरी चल्छ साझा
स्वयम्भु–सीतापाइला–कलंकी–रवीभवन–सोल्टीमोड–कालीमाटी–टेकु–त्रिपुरेश्वर– सहीदगेट–सिंहदरबार–माइतिघर–बबरमहल–नयाँबानेश्वर–मिनभवनहुँदै कोटेश्वरबाट भक्तपुर चल्ने छन् ।

१० वटा बसहरु जडिबुटीबाट सानोठिमी–पुरानोठिमी–भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किनेछन् । अन्य १० वटा बस जडिबुटीबाट नयाँबाटो सल्लाघारी, सूर्यविनायक–कमलविनायक हँँदै पुरानो बाटो भएर फर्किनेछ ।

भक्तपुरमा साझा चले स्थानीयलाई के फाइदा हुन्छ ?
भक्तपुरका प्रमुख २ रोड नयाँ बाटो र पुरानो ठिमी २ बाटो भएर साझाका बस संचालन हुनेछन् । भक्तपुर रुटमा चल्ने बस नन–स्टप चल्नेछन् । बस यात्रु कुर्नका लागि बसपार्कमा रोकिने छैन । बस नन–स्टप कुद्ने भएकाले स्थानीयले बसका लागि धेरै समय कुर्न पर्ने छैन । भक्तपुरका चल्ने अन्य बसको तुलनामा साझाको सिट क्षमता धेरै छ ।


क्लिकमान्डु