बैशाख ७ देखि ११ गतेसम्म नेपाल १३ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला



काठमाडौं । काठमाडौंको भृकृटी मण्डपमा बैशाख  ७ देखि ११ गतेसम्म ‘नेपाल १३ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी –२०७४’ हुने भएको छ ।

मेला नेपाल घरेलु तथा साना उद्योग महासंघ, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् ।

लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्दै मुुलुकमा भएका आविष्कारहरूलाई उद्योगसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागेको महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले जानकारी दिए ।

‘नेपाली उद्योगमा प्रविधिको प्रयोग हुन नसकेका कारण युवाहरुलाई साना उद्योगमा आर्कर्षण गर्न सकिएको छ, उद्योगमा प्रविधि भित्राउन सके पुस्ता हस्तान्तरण हुनेछ,’ गिरीले भने ।

उद्योगमा प्रविधि भित्राउन नसक्दा कूल गार्हस्थ उत्पादनमा पुर्याईरहेको ११ प्रतिशतको योगदान घटेर ५ प्रतिशतमा झरेको गिरीले जानकारी दिए ।

मेलामा नेपाल, चीन, भारत, पाकिस्तन र बंगलादेशका २ सय ३६ वटा स्टल रहने छ । जसमा ६० जना भन्दा बढी नविन प्रविधि अनुसन्धानकर्ताहरु सहितको नवीनतम प्रविधि प्याभिलियन, ३५ वटा महिला उद्यमशिलता प्याभिलियन, १० वटा बन तथा कृषि सहज कार्यक्रमको प्यालिभियन, खाद्यान्नका स्टलहरु र बाँकी औद्योगिक उत्पादनहरु राखिनेछन् ।

मेलामा रोजगारदाता र वेरोजगार बिचसुचना पुलको काम गर्ने उद्देश्यले महासंघले आइ.एल.ओ, श्रम विभाग र रोजगार सूचना केन्द्रको सहकार्यमा ‘मेला भित्रको मेला’ रोजगार मेला पनि आयोजना गर्ने आयोजकले जानकारी दिएका छन् ।

प्रदर्शनीको १ लाख भन्दा बढीले अवलोकन गर्ने तथा ६ करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।

मेला प्रवेशका लागि सर्वसाधारणलाई ५० र विद्यार्थीको लागि २५ रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।


क्लिकमान्डु